काठमाडौं । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको गोली लोड भएको पेस्तोल लुटेर भागेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटिएको हो ।
सोमबार हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगल गएका थिए । तर, प्रहरीलाई देखेपछि २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।
अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् । ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरले जनाएको छ ।
आरोपीहरुको खोजीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल, ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् ।
लागुऔषध कारोबारीको खोजीमा ६० जना प्रहरी परिचालन गरिएको छ ।
