काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। प्रदर्शनका प्रमुख योजनाकार मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् भने सुरक्षाकर्मीहरूले उनको खोजीलाई तीव्र बनाएका छन् ।
विवादित प्रसाईं ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनका ‘कमान्डर’ तोकिएका थिए । तर, आन्दोलनको अगुवाइ गरेका प्रसाईं यतिबेला मोबाइल अफ गरेर फरार भएको प्रहरी बताउँछ । प्रसाईंको खोजीमा प्रहरी शुक्रबार रातिदेखि नै लागेको हो ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि उनको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।
शनिबार बिहान धर्मगुरु पुष्कर खतिवडाको घर इमाडोल पुगेर फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन । प्रसाईंले चलाउँदै आएको मोबाइलको अन्तिम ‘लोकसन’ ललितपुरकै भैँसेपाटीमा देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका धर्मगुरु खतिवडाले प्रसाईं शनिबार बिहान आफ्नो घरमा करिब एक घण्टा बसेर निस्किएको प्रहरीसमक्ष बताएका छन् । खतिवडाको घरबाट निस्कँदा प्रसाईंले काठमाडौं छाड्ने बताएका थिए । प्रसाईसँग अरू पाँचजना समेत साथमै रहेको पाइएको छ ।
यसैबीच, प्रसाईंले आफू काठमाडौंमै रहेको जिकिरसहित आइतबार (चैत १७) एक भिडियो सार्वजनिक गरेका छन् । तर, भिडिओको स्क्रिनमा उनी एउटा मन्दीरमा गएर लाइभ आएका हुन् । जसले गर्दा उनी उपत्यका बाहिर पुगिसकेको प्रहरीको अनुमान छ ।
प्रदर्शनका संयोजनक भने पूर्वमहापञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका थिए । प्रदर्शन अराजक बनेपछि सुवेदी घरमै नजरबन्दमा छन् । त्यस्तै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाल, खतिवडालगायतलाई पक्राउ गरेको छ ।
तीनकुनेमा राजावादीले गरेको आन्दोलन हिंसात्मक बन्दा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो भने सयौंको हाराहारीमा घाइते भएका थिए ।
