काठमाडौं । वडा प्रहरी कार्यालय श्रीपुर, वीरगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम कुमार बस्नेतले सरुवा भइसकेका प्रहरीलाई रमाना नदिई काखी च्याप्दा तस्करीसँगै असुलीधन्दा व्यापक रुपमा फस्टाएको पाइएको छ ।
हाल श्रीपुर प्रहरी कार्यालयमा इन्स्पेक्टर बस्नेतले कारागार सुरक्षा गार्ड रामेछाप सरुवा भइसकेका प्रहरीलाई रोकेर अवैध असुली धन्दा चलाइरहेको आरोप छ । स्रोतका अनुसार, उनले सहायक हवल्दार अमित कुमार चौरसियालाई अवैध असुलीका लागि प्रयोग गरिरहेका हुन् ।
सहायक हवल्दार चौरसियाको सरुवा भएपछि रवानाको लागि माथिबाट ताकेता आउन थालेपछि बस्नेतले रवाना गर्नुको सट्टा चौरसियालाई १५ दिनको बिदा दिएर घर पठाए । तर, चौरसिया २५ दिनसम्म बिदामा बसेर जिल्ला प्रहरी कार्यालय लगायतका माथिल्लो निकाय तथा हाकिमहरुसँग रवाना नहुने पक्कापक्की गरेर सम्पूर्ण सेटिङ मिलिसकेकाले पुनः अड्डा जमाएर बसेका छन् ।
गत चैत १३ गते बुधबार फेरि सहायक हवल्दार चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको थियो । तर उनले केहि घण्टामै पुनः सेटिङ मिलाएर श्रीपुरमै फर्किन सफल भए । उनैको कारण वडा प्रहरी श्रीपुरमा प्रहरीको चेन अफ कमान्ड नै प्रभावित भएको देखिन्छ ।
सहायक हवल्दार चौरसियाले आफुभन्दा सिनियर प्रहरीहरु (असई, सई) हरुलाई समेत नटेर्ने तथा आदेश दिने गरेको प्रहरी स्रोत बताउँछ । यता प्रहरी निरीक्षक बस्नेत अरु प्रहरी कर्मचारीको कुरामा ध्यान नदिए पनि चौरसियाको भने जुनसुकै कुरा मान्ने गरेको आरोप छ ।
वडा प्रहरी कार्यालय श्रीपुरको उजुरी शाखामा कार्यरत प्रहरी सहायक हवल्दार चौरसियाले कार्यालय आउने सेवाग्राहीसँग अवैध असुली गरिरहेको बताइन्छ । सेवाग्राहीका अनुसार पैसा दिएकाहरुको जस्तोसुकै काम गरिदिने र नदिने पिडित भएपनि दुःख दिने गरेका छन् ।
प्रहरी निरीक्षक बस्नेतले तस्करी तथा अन्य असुलीका सम्पुर्ण जिम्मा सहायक हवल्दार चौरसिया नै दिएका छन् । कार्यालयमा आउने सेवाग्राहीसँग मुद्दा चलाइदिने त्रास देखाउने या मुद्दा मिलाइदिने भनेर जस्तोसुकै घटना मिलाउन दबाब दिएर असुली गर्ने गरेको आरोप चौरसियामाथि छ ।
साथै सहायक हवल्दार चौरसियाले वडा प्रहरी कार्यालय श्रीपुरको एरिया भित्रका होटल, मसाज सेन्टरलगायतका अवैध गतिविधि हुने ठाउँबाट मासिक रुपमा महिनवारी समेत उठाउने गरेका छन् ।
उनको व्यवहार पनि प्रहरी आचरण विपरित रहेको बताइन्छ । उनले श्रीपुर मातहत पर्ने एरियाबाट पक्राउ परेका भन्सार छलीका अवैध सामानहरुबाट पनि केही सामान बुझाउने र केही बिक्री गर्नुको साथै घरमा समेत पठाउने गरेको स्रोत बताउँछ ।
तत्कालिन पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलको पालामा हेडक्वार्टरसम्म उजरी परेपछि जिल्ला तानिएका चौरसिया नयाँ एसपी आएपछि फेरी श्रीपुरमा जान सफल भएका हुन् । बारा बरियारपुर निवासी चौरसियाले पुनः श्रीपुर गएपछि पहिलाकै गतिविधिहरु सुरु गरेका हुन् ।
प्रहरी सहायक हवल्दार चौरसियाको अशोभनिय क्रियाकलापले उनी दलाल हुन् की प्रहरी छुट्याउने गाह्रो भएको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीका अनुसार उनी वडा प्रहरीमा ड्युटीमै बस्दा समेत कहिले प्रहरीको पोसाकक लगाउँदैनन् । त्यस्तै वडा प्रहरी कार्यालय बाहिर जाँदा त उनी प्रहरी अधिकृतसम्म परिचय दिने गरेको बताइन्छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख इन्स्पेक्टर बस्नेतका बिश्वास पात्रको रुपमा रहेका सहायक हवल्दार चौरसियाले सम्पूर्ण किसिमको सेटिङ गर्ने गरेका छन् । उनकै सेटिङमा श्रीपुर एरिया अन्तर्गतका होटलहरुमा प्रहरीले गर्ने छापामारीको क्रममा पक्राउ परेकाहरुलाई मोटो रकम बुझेर यसै छाड्ने समेत गरिएको छ ।
भर्खरै केही महिनाअघि मात्र वीरगन्जस्थित एक होटलमा एमआरको काम गर्ने एक पुरुष एक महिलासँगै रंगेहात पक्राउ परेका थिए । ति महिला पुरुषलाई अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेर वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याइएपनि उनकै सेटिङमा मोटो रकम बुझि विना कारवाही छोडिएको थियो ।
हवल्दार चौरसियाविरुद्ध यस्ता थुप्रै गुनासो भएपनि उनलाई कारवाही गर्नुको साटो राम्रो स्थान दिनुले उनले गर्ने अवैध असुलीमा प्रहरी निरीक्षक बस्नेको पनि संलग्नता रहेको बुझ्न गाह्रो छैन ।
यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख बस्नेतसँग बुझ्दा उनले फोनमा जानकारी दिन नसकिने बताउँदै भोलि कार्यालयमै आएर कुरा गर्न भने । त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालसँग जानकारी लिन फोन सम्पर्क गर्दा फोन उठाएनन् ।
