काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकसँग प्रहरीले राजावादी प्रदर्शनकारीको उदण्डता रोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालगायत सुरक्षा अधिकारीकै सामु अध्यक्ष नेपालले गृहमन्त्री लेखकसित तोडफोड र हिसांत्मक घटना हुँदा समेत प्रहरीले केही गर्न नसकेको गुनासो गरेका हुन् ।
आलोकनगरमा रहेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार राजावादी प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि त्यसको स्थलगत अवलोकनका लागि गृहमन्त्री लेखक पुगेका थिए ।
‘तपाईँको आदेश प्रहरीले नमानेको हो कि ? हामीलाई त त्यो शंका लागिरहेको छ,’ नेपालले गृहमन्त्रीसँग भने, ‘प्रहरीभित्र पनि यस्ता कुरा हुन्छन् कि ?’ आधा घण्टा मात्र छिटो प्रहरी आएको भए क्षति नहुने नेपालको भनाइ छ।
त्यसपछि अध्यक्ष नेपालले फेरि आईजीपी थापालाई सोधे, ‘तपाईँको आदेश नमानेका हुन् ?’ त्यसपछि थापा जवाफ दिँदै भन्छन्, ‘आदेश मानेकै हो हजुर। हिजो त अब सबै टोली खटाएकै हो।’
शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक रूपमा प्रस्तुत भएका थिए ।
