काठमाडौं । बलात्कारको आरोपमा कोशी प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ।
विराटनगर महानगरपालिका–१५ घर भएकी पीडित किशोरीले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापामा जाहेरी दिएकी हुन्।
पीडितका अनुसार २०७८ साल जेठदेखि फेसबुकमार्फत चिनजान भएका साह थरका प्रहरी जवानले विवाहको आश्वासन दिएर पटक–पटक भेट्न बोलाएर करणी गरेका थिए ।
गत भदौ ७ गते, साहले किशोरीलाई झापाको सुरुङ्गा क्षेत्रमा भेट्न बोलाएका थिए। रात परिसकेको भन्दै उनलाई होटल क्विन प्यालेसमा बस्न दबाब दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरी अनुसार, किशोरी होटलबाट घर फर्किन खोज्दा साहले ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै रोक्न खोजे। पछि, कोठामा छिरेलगत्तै जबरजस्ती अँगालो हालेर बलात्कार गरेको पीडितको आरोप छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टले जाहेरी दर्ता भइसकेको पुष्टि गरेका छन्। उनले भने, ‘१९ वर्षीया युवतीले किटानी जाहेरी दिनुभएको छ। अनुसन्धान सुरू भएको छ, तर हालसम्म पक्राउ पुर्जी जारी गरिएको छैन।’
