काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको विभत्स हत्या भएको छ ।
शरीरका ठाउँठाउँमा खुकुरीले काटेको र मुखमा आगो लगाएको अवस्थामा उनको शव महोत्तरीको गौशाला नगरपालिका ८ स्थित सागरनाथ वनमा फेला परेको छ ।
प्रहरीका अनुसार सागरनाथ वनको रेल्वे ट्रयाकबाट करिब एक सय मिटर दक्षिणतर्फ शुक्रबार साँझ करिव साढे ५ बजे उनको शव नग्न अवस्थामा फेला परेको हो ।
सनाखत भने शनिबार मात्र भएको महोत्तरी प्रहरीले जनाएको छ । शिवशंकर बिहीबार दिउँसो महोत्तरीको बर्दिबास नगरपालिका–५ पशुपतिनगर स्थित ससुराली जान भनेर हिडका थिए ।
श्रीमती सृजना र १० महिने छोरासहित एउटै मोटरसाइकलमा हिडेका उनी महेन्द्रनगरसम्म सँगै थिए । त्यहाँ पुगेपछि श्रीमती सृजनाले माइतबाट बोलाएका दुई मध्ये एउटा मोटरसाइकलमा शिवशंकर र अर्को मोटरसाइकलमा छोरासहित सृजना चढेकी थिइन् ।
घरपरिवार शिवशंकर ससुरालीमा रहेकोमा ढुक्क थिए । तर, शुक्रबार महोत्तरी प्रहरीले शव पहिचानका लागि बोलाएपछि उनीहरु छाँगाबाट खसे झै भए । भाइ राम महतोका अनुसार शिवशंकरको ससुराली पुग्नु अघि नै हत्या भएको पाइएको छ ।
उनका अनुसार केही दिन अघि शिवशंकरमाथि ससुरालीमै कुटपिटसमेत भएको खुलेको छ त्यसपछि शिवशंकर ससुराली जान मानेका थिएनन् । उनलाई सृजनाले हजुरबुबाको मृत्यु भएको कहानी सुनाएर ससुराली जान बाध्य बनाएको खुलेको छ ।
महोत्तरी प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
