काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कोर्सको प्रवेश परीक्षा सुरु भएको छ । बिहीबार २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएर प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भइसकेका र इन्सपेक्टरमै रहेका गरी १३० जना परीक्षामा सहभागी भएका छन् ।
पहिलो दिन त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले तयार गरेका व्यवस्थापन विषयमा परीक्षा सञ्चालन भएको स्टाफ कलेजका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआईजी) मनोजकुमार केसीले बताए ।
अब शुक्रबार, शनिबार र आइतबार प्रहरीको स्टाफ कलेजले नै तयार गरेका विषयमा परीक्षा सञ्चालन हुने बताइएको छ । परीक्षामा अब प्रहरीसँग सम्बन्धित विषयवस्तु मात्रै हुनेछन् । तर, परीक्षामा भने त्रिविका अधिकारीहरू पनि सहभागी हुनेछन् ।
परीक्षामा सहभागी हुनका लागि प्रहरी निरीक्षकमा भर्ना भएको १० वर्ष पूरा हुनु पर्ने प्रस्तावित विधेयकमा व्यवस्था छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट पहिलोपटक नेपाल प्रहरीमा स्टाफ कलेजको सुरुवात भएको हो ।
स्टाफ कलेज अध्ययन गर्नका लागि चारवटै प्रश्नपत्रमा उत्तीर्ण हुनुपर्ने छ । अन्तिम नतिजा भने चारवटै प्रश्नपत्रको परीक्षापछि मात्रै प्रकाशन हुनेछ ।चारवटै विषयमा उत्तीर्ण मध्येबाट बढी अंक ल्याउने ३५ जना स्टाफ कोर्सका लागि छनोट हुनेछन् भने ५ जनालाई वैकल्पिक सूचीमा राखिनेछ ।
छनोट भएका ३५ जनामा कोही सहभागी हुन नसकेमा वैकल्पिक सूचीबाट सहभागी गराइनेछ।
हरेक प्रश्नपत्र १०० पूर्णांकका हुनेछन् र कम्तीमा ४० अंक ल्याउनुपर्नेछ ।
