काठमाडौं । पूर्वको महत्त्वपूर्ण शैक्षिक हबको रूपमा परिचित धरानको महेन्द्र बहुमुखी क्याम्पस राजनीतिक नेतृत्वको कारखाना नै हो । महेन्द्र क्याम्पसबाट राजनीतिमा उदाएका नेताहरू मेयर सांसद हुँदै पार्टीका उच्च तहमा पुगेका छन् ।
धरानको नेतृत्व जन्माउने महेन्द्रमा लामो समय एमाले निकट अनेरास्ववियु र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्यो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले २६ वर्षपछि नेतृत्व गर्ने अवसर पाएको छ ।
चैत ५ गते सम्पन्न निर्वाचनको परिणाम अनुसार नेविसंघका प्रशान राई स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यसअघि २०५५ सालमा नेविसंघको तर्फबाट मुकेश थापाले सभापतिमा विजयी हासिल गरेका थिए । थापापछि नेविसंघको तर्फबाट पहिलो पटक नेतृत्व गर्ने अवसर राईलाई मिलेको हो ।
आन्तरिक एकता कायम गर्न नसकेपछि झिनो मतान्तरले पराजित हुँदै आएको नेविसंघमा यसपटक बलियो एकता देखियो । स्थानीय नेता, नेविसंघ जिल्ला तथा केन्द्रीय प्रतिनिधिको सक्रियता र अनेरास्ववियुसँगको गठबन्धनले नेविसंघलाई नेतृत्वमा पुर्याएको हो ।
२०७९ सालको स्ववियु निर्वाचनमा कांग्रेस पार्टीको आन्तरिक असमझदारीको कारण सभापतिका उम्मेदवार विनोद आले पराजित भए । समाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक)ले आलेलाई पराजित गरे । उनै युवराजलाई पराजित गर्दै प्रशानले नयाँ इतिहास बनाएका हुन् ।
महेन्द्र क्याम्पसकै विद्यार्थी राजनीतिबाट उदाएका उमेश थापा हाल कांग्रेस कोशी प्रदेश महामन्त्री छन् । कांग्रेसका नेता सुवास राई, भोजराज न्यौपाने, पूर्व मेयर तिलक राई, क्षेत्रीय सभापति सुजेन्द्र गोले, नगर सचिव जितेन्द्र राई, हिमाल श्रेष्ठ लगायतका नेताहरू नेविसंघकै उत्पादन हुन् ।
२०३६ सालमा स्थापना भएको महेन्द्र बहुमुखी क्याम्पसको पहिलो सभापति अनेरास्ववियुका भक्त बहादुर राई हुन् । त्यसपछि निरन्तर भीम राई, चण्डी राज राई, नारायण प्रसाद राई, चन्द्र कुमार राई, उपेन्द्र बहादुर कोरङ्गी, टंक राई, शिव कुमार राई र सिंह बहादुर लिम्बू स्ववियु सभापति बनेका थिए ।
त्यसपछि मुकेश थापाले नेविसंघको खाता खोले पनि निरन्तर विजयी इतिहास बनेन । यसपटक भने प्रसान राईको नेतृत्वमा स्ववियु कमिटी गठन भएको छ ।
