काठमाडौं । नेपाल प्रहरीमा ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदको बढुवाका लागि ११ जना नायब महानिरीक्षक (डिआईजी)बीच प्रतिस्पर्धा छ । सिनियर टोलीबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा प्रतिस्पर्धामा छन् । उनीहरु २०५२ कात्तिक २७ गते भर्ना भएका टोली हुन् ।
यस्तै २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीका दाबेदार हुन् । यो टोलीबाट २ जना पर्ने सम्भावना छ ।
यस्तै २०५४ का दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । उनीहरु पनि एआईजीका दाबेदार हुन् । यो टोलीबाट एकजना बढुवा हुने संकेत छ । जसमध्ये कार्की र अधिकारीको प्रबल सम्भवाना छ ।
तर, रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरूले आफूअनुकूल लबिइङ सुरु गरेर एक नम्बरमा आउँदा हालका दिपक थापापछि प्रहरी महानिरीक्षक (आईजीपी) हुने सम्भावना रहेकाले उनीहरुले धेरै नै चलखेल गरेको स्रोत बताउँछ ।
००००
अलिहेकै प्रहरी नियमावलीअनुसार हालका आईजीपी थापा आगामी भदौ १९ गते अनिवार्य अवकाशमा जानेछन् । थापा पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाशमा जाने हुन् । उनीसँगै उनका ब्याचका दुई एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन् ।
भदौ १९ गतेदेखि रिक्त हुने आईजीपीमा खापुङको सम्भावना सबैभन्दा बलियो देखिएको छ । उनी अहिले डिआईजीको पहिलो बरीयतामा छन् । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत छन्।
उनीसँगै भर्ना भएका मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य पनि अहिले एआईजीमा बढुवा हुने सम्भावना छ । उनी एआईजीमा बढुवा भए पनि आईजीपी बन्ने सम्भावना भने छैन । उनी एआईजीको उमेर हदका कारण आगामी जेठ ११ गते अवकाश हुनेछन् ।
उनीहरूकै ब्याचका पोखरेल पनि एआईजीमा बढुवा हुने सम्भावना छ । पोखरेल पनि खापुङसँगै २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहनेछन् । भदौपछि खापुङ आईजीपी नभए यो ब्याचबाट पोखरेल हुने सम्भावना पनि कायमै छ ।
यसपछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका ५ जना डिआईजी पनि एआईजीका स्वभाविक दाबेदार हुन् । उनीहरूमध्ये दुईजना अहिलेको एआईजीमा हुने गृह स्रोत बताउँछ ।
यो टोलीबाट सबैभन्दा बलियो दाबेदार हुन् सिद्धिविक्रम शाह र सुशिल सिंह राठौर । शाह हाल प्रहरीको विशेष ब्युरोमा कार्यरत उनी आफ्नो ब्याचबाट पहिलो नम्बरमा छन् भने प्रबन्ध शाखामा कार्यरत राठौर आफ्नो ब्याचबाट दोस्रो नम्बरमा छन् ।
उनीहरसँगै उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीको दौडमा छन् । उनीहरु संगठनमा व्यवसायीक प्रहरी अधिकृत हुन् । यसअघिसम्म २०५४ सालको टोलीभन्दा अगाडि रहँदै आएपनि डिआईजी बढुवामा उनीहरुलाई पछि पारिएको थियो ।
उनीहरुको ब्याच २०६४ मा नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएको थियो । प्रहरी उपरीक्षक (एसपी)मा भने २०५४ को टोलीसँगै २०७४ र २०७९ मा बरिष्ठ उपरीक्षक (एसएसपी) भएको थियो ।
तर अहिले उनीहरु एआईजीमा २०५४ को ब्याचलाई फेरि उछिन्ने गरी लबिइङमा छन् । आफूहरुलाई रवि लामिछाने गृहमन्त्री हुँदा अन्याय गरिएको दाबीसहित अहिले २०५४को ब्याचभन्दा अगाडि बढुवा हुनुपर्ने जिकिर उनीहरुको छ ।
यसरी एआईजीमा अगाडि बढे शाह र राठौरमध्ये एकजना आगामी कात्तिक २७ गतेपछि प्रहरी नेतृत्वमा पुग्ने सम्भावना छ । तर उनीहरुको दाबी भदौमा रिक्त हुने आईजीपीका लागि पनि हुनेछ । त्यतिबेला उनीहरुमध्ये एकजना आईजीपी भएमा खापुङको टोली एआईजीमै अवकाश हुनेछ । नभए खापुङको ब्याचले २ महिना नेतृत्व सम्हाल्नेछ ।
त्यस्तै २०५४ को टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी एआईजीका दाबेदार हुन् । यो टोलीबाट कार्की सधैँ पहिलो नम्बरमा छन् । अहिलेको सिनियारिटी हेर्दा कार्की यो टोालीबाट आईजीपी बन्ने सम्भावना बलियो छ । २०५२ कात्तिकको टोली र २०५३ को टोलीबाट आईजीपी बने पनि कार्की आफ्नो ब्याचबाट आईजीपी बन्ने सम्भावना बलियो छ ।
तर कार्की आगामी भदौबाटै आईजीपी बन्ने लबिइङमा छन् । उनी आईजीपी बने भने अघिल्लो ब्याचका दुईवटै टोलीबाट आईजीपी हुने छैनन् । कार्की हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख छन् । पछिल्लो समय उनले कांग्रेस नेताहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको स्रोतको दाबी छ ।
कार्कीसँगै केसी र अधिकारी पनि लबिइङमा छन् । उनीहरू दुवै जना पनि एआईजी बन्ने सम्भावना छ । तर अहिलेको सत्ताले केसीलाई खासै रुचाएको छैन । केसी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन् ।
त्यस्तै अधिकारी नेकपा एमालेको जोडबलमा एआईजी बन्न दाउमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध बनाएका अधिकारी कमजोर क्षमताका प्रहरी अधिकृत समेत हुन् ।
एआइजी कमान्ड गर्ने ६ वटा विभागहरू भने अहिले रिक्त छन्। मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र सिआइबीमा एआइजी पद रिक्त छ ।
