काठमाडौं । गत मंसिरमा सरकारले ८ प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गर्दा कोशी प्रदेशमा राजन अधिकारी र लुम्बिनी प्रदेशमा दानबहादुर कार्कीलाई खटाएको थियो । यस्तै गत १८ भदौमा कृष्णहरि शर्मा पोखरेललाई बागमति प्रदेश र २६ भदौमा लालमणि आचार्यलाई मधेश प्रदेश प्रहरी प्रमुखको रुपमा खटाइएको थियो ।
जतिबेला सरकारले प्रदेशमा गरेको कार्य सम्पादनको आधारमा माथिल्लो तहको बढुवा गर्ने भन्दै पठाएको थियो । तस्करी नियन्त्रण, शान्ति सुरक्षाको अवस्था, प्रहरीको मनोबलमा सुधार र रचनात्मक कार्य गरी मुख्य चार ‘म्यान्डेट’ दिएर डिआईजीलाई प्रदेशमा पठाइएको हुन्छ ।
तर उनीहरु यतिबेला ती ‘म्यान्डेट’लाई खल्तीमा बोकेर काठमाडौंमा अनेक बहानामा बढुवाको लागि सक्रिय छन् । कार्यक्षेत्रमा गएको छोटो समयमै प्रदेश प्रहरी प्रमुख अर्थात डिआईजीहरु काठमाडौं आएर दौडधुपमा व्यस्त रहेको पाइएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)मा दिपक थापा नियुक्त भएपछि अबको १,२ दिनमै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस समितिको बैठक बस्ने तयारी गरेलगत्तै प्रदेश प्रहरी प्रमुखका रुपमा खटिएका डिआईजीहरु काठमाडौं आएका हुन् ।
सरकारले नेपाल प्रहरीमा रिक्त ६ एआईजी बढुवाको तयारी सुरु गरेको छ । सोहीकारण प्रदेश प्रहरी प्रमुख रहेका चारजैजना डिआईजीहरुले कार्यक्षेत्र छोडेर काठमाडौंमा आएर बढुवाको लागि दौडधुप बढाएका हुन् ।
नयाँ प्रहरी महानिरीक्षक थापाको स्वागतको बहानामा प्रदेशका डिआईजीहरु काठमाडौंमा भेला भएर बढुवाको शक्तिसंघर्षमा लागेका छन् । उनीहरु काठमाडौंमा दौडधुपमा व्यस्त हुँदा उनीहरुले नै खटाएका घुमुवाहरूले लाइन मिलाएर तस्करी गराइरहेका छन् ।
‘प्रदेशमा बेथिती मौलाएको छ । तर, डिआईजी नै लाइन मिलाउन थालेपछि अन्य प्रहरीको पनि ध्यान कमाउनेमै केन्द्रीत हुन्छ,’ एक प्रहरी अधिकृत बताउँछन् । उनीहरु काठमाडौंमा व्यस्त हुँदा प्रदेशको सुरक्षा झनै खस्किएको छ ।
नेपाल प्रहरीमा ६ एआईजी पदको बढुवाका लागि १६ जना डिआईजीबीच प्रतिस्पर्धा छ । सिनियर टोलीबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा प्रतिस्पर्धामा छन् । उनीहरु २०५२ कात्तिक २७ गते भर्ना भएका टोली हुन् ।
यस्तै २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीका दाबेदार हुन् । यो टोलीबाट २ जना पर्ने सम्भावना छ ।
यस्तै २०५४ का दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । उनीहरु पनि एआईजीका दाबेदार हुन् । यो टोलीबाट एकजना बढुवा हुने संकेत छ । जसमध्ये कार्की र अधिकारीको प्रबल सम्भवाना छ ।
तर, रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरूले आफूअनुकूल लबिइङ सुरु गरेर एक नम्बरमा आउँदा थापापछि आईजीपी हुने सम्भावना रहेकाले उनीहरुले धेरै नै चलखेल गरेको स्रोत बताउँछ ।
पछिल्लो समयमा सबैभन्दा बढीदौडधुप लुम्बिनीका प्रहरी प्रमुख कार्कीले बढाएको स्रोतको दाबी छ । उनी तत्कालिन गृहमन्त्री रवि लामिछानेको दबाबमा अस्वभाविक रुपमा बढुवा गरिएको थियो । एक ब्याचलाई पन्छाएर अस्वभाविक रुपमा डिआईजीमा बढुवा भएका थिए ।
त्यस्तै डिआईजी अधिकारीले पनि नेकपा एमालेको आडमा बढुवाको लागि चर्को दबाब बढाएका छन् । उनी पनि तत्कालिन गृहमन्त्री लामिछानेको आशिवार्दले गर्दा सिनियर ब्याचलाई उछिनेर बढुवा भएका कमजोर क्षमताका अधिकृत हुन् ।
त्यस्तै बागमति प्रदेशका डिआईजी शर्मा र मधेश प्रदेशका डिआईजी आचार्यले पनि राजनीतिक दबाब कायम राखेका छन् । उनीहरु प्रहरी संगठनमा विवादित प्रहरी अधिकृत हुन् ।
