काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी सहायक हवल्दार नारायण गुरुङले आर्थिक आतंक मच्चाएका छन् ।
सहायक हवल्दार गुरुङविरुद्ध आर्थिक अनियमिततासम्बन्धी गम्भीर आरोपहरू निरन्तर उठ्दै आएका छन् । वर्षौँदेखि घुमुवा प्रहरीको रूपमा सक्रिय रहेका गुरुङले व्यापारी तथा व्यवसायीहरूबाट अवैध रूपमा रकम असुल्ने गरेको स्थानीयहरु बताउँछन् ।
२०७७ सालमा डिएसपी राजन चापागाईको कार्यकालमा गाडी चालकसँग तीन सय रुपैयाँ घुस लिएको आरोपमा उनी निलम्बनमा परेका थिए । तर, निलम्बनपछि पनि बर्दिबासमै सक्रिय रहँदै उनले व्यापारीहरूबाट रकम असुली जारी राखेको बताइन्छ ।
स्थानीय होटल व्यवसायी तथा व्यापारीहरूले गुरुङले नियमित रूपमा असुली गर्ने गरेको गुनासो गरेका छन् । ‘कालिया’ भनेर चिनिने एक कपडा व्यापारीसँग उनले बारम्बार रकम उठाउने गरेको स्रोतहरूको दाबी छ ।
गुरुङले बर्दिबासमा आफ्नो निजी घरसमेत निर्माण गरिसकेका छन्, जसले उनीमाथि उठेका आर्थिक अनियमिततासम्बन्धी शंका थप बलियो बनाएको छ । यसअघि पनि अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा निलम्बनमा परेका गुरुङ पुरानै शैलीमा असुली गरिरहेको व्यापारीहरू बताउँछन् ।
स्थानीय व्यवसायीहरूले प्रहरी प्रशासनबाट सुरक्षा पाउनुको सट्टा असुलीको चपेटामा पर्नुपरेको गुनासो गरिरहेका छन् । साथै, रातु खोलाबाट गिट्टी–बालुवा ढुवानी गर्ने ट्र्याक्टर चालकहरूसँग समेत उनले रकम असुल्ने गरेको आरोप छ ।
त्यसैगरि बर्दिबासका होटलहरुमा यौन व्यवसाय अहिले फष्टयाएको छ । ती यौन व्यासाय चलाउन होटलहरुबाट लाखौं रुपैयाँ असुली गरि सहायक हवल्दार गुरुङ संरक्षण गर्दे आएको आरोप लागेको छ ।
यसरी गुरुङले खुल्ला मदिरा बेच्ने होटलहरुको साहुहरुलाई डरत्रास देखाई रकम असुल्ने गरेका नाम नछाप्रने सर्तमा एक होटल साहुले बताए ।
हाल इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी रेवतीरमन पोखरेलको सोझोपनको फाइदा उठाउँदै गुरुङले पुनः अवैध असुली बढाएको बताइन्छ ।
