काठमाडौं । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिहरूले गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३,५, २०२५ मा काठमाडौंमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन् ।
भर्चुअल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एनआरएनएमा एक भएर हिँड्न आह्वान गरे । उनले सर्वोच्च अदालतको परमादेश अनुरूप मे महिनामा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकता लगायत गैर आवासीय नेपालीहरूका मुद्दालाई टुंगोमा पुर्याउन सक्ने बताए ।
नेपाली जनसम्पर्क समिति जापानका पूर्वअध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे । उनले सर्वोच्चको फैसला बमोजिम मे महिनामा अधिवेशन आयोजना गर्दै सकभर सबै पक्ष सहभागी हुने वातावरण बनाउनु पर्ने बताए ।
जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानडामा अहिले सम्म निकै कम मात्रै एनआरएनएको सदस्य बनेकाले सदस्यता अभियान तीव्र पार्नु पर्ने सुझाव दिए ।
जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिए । जनसम्पर्क समिति नेदरल्यान्ड्सका सभापति शालिक गौतमले एनआरएनए लाई एकताबद्ध भएर अगाडी बढाउनुपर्ने जनाए ।
जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले सबै पक्षले महाधिवेशनमा भाग लिने वातावरण बनाउन उच्चस्तरीय समितिले सक्दो प्रयास गर्नु पर्ने सुझाव दिए । विमल सुवेदी (कतार) ले उच्चस्तरीय समितिले बालुवाटारस्थित संघको सचिवालयमा बसेर काम गर्नु पर्ने बताए ।
कांग्रेस नेता हरिबोल भट्टराईले एकताको विकल्प नभएको बताउँदै एनआरएन नागरिकता सम्बन्धी मस्यौदा हुँदै गरेको विधेयक कस्तो बन्दै छ चनाखो हुनुपर्ने बताए । बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सम्मानित सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नु पर्ने बताए । उनले बढी भन्दा बढी एनआरएनहरूलाई सदस्य बन्न प्रोत्साहित गर्न अभियान चलाउनु पर्ने सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले नेपाली काँग्रेस कानुनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनु पर्ने बताए ।
उनले परराष्ट्र मन्त्रीको निर्देशन नै एकताको मुख्य आधार हो भन्दै सबै पक्षलाई समेट्ने गरी मे ३(५ मा अधिवेशन आयोजना गर्न पहल गर्न आग्रह गरे । उनले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले भोट हाल्न पाउने अवस्थाले डेलिगेट्सको विवाद समाधान हुने अवस्था देखिएको बताए ।
उनले संसारभरि रहेका जनसम्पर्क समितिहरूलाई एकताबद्ध र अनुशासित भएर क्रियाशील हुन आग्रह पनि गरे ।
बैठकमा जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, मलेसियाका सभापति चोलाकान्त पंगेनी, युएइका सभापति भुवानी तिम्सिना, साउदी अरबका सभापति अर्जुन थापा, नेदरल्यान्ड्सका सभापति शालिक गौतम, बेल्जियमका सभापति सुवास गुरुङ सहभागि थिए ।
त्यस्तै स्पेनका सभापति सन्तोष श्रेष्ठ, अष्ट्रेलियाका पूर्वसभापति कृष्ण गिरि, नारायण सुवेदी (जापान), नरेन्द्र भाट (कतार), शैलु अधिकारी (डेनमार्क), चिन्तामणि सापकोटा (स्पेन), शालिक राम डुम्रे (स्पेन), एकराज गिरी (स्पेन), छविलाल कँडेल (इटाली), विनोद कार्की (आयरल्यान्ड) पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी जनसम्पर्क समिति बेल्जियमकी पूर्व सभापति सीता सापकोटा, जनसम्पर्क समिति पोर्चुगलका पूर्व सभापति तिलक गैह्रे, एनआरएन अभियन्ताहरू डा केशव पौडेल, सुनिल साह, बुद्धि सुवेदी, प्रमोद सिटौला, सिपी पौडेल, दीपक गौतमलगायतले मे महिनामा महाधिवेशन भए पछि फेरि अक्टोबरमा महाधिवेशन गर्नु अदालतको अवहेलना हुने भएकाले सबै पक्षलाई आफ्नो इगो र हठ त्यागी एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए ।
एनआरएनए उच्चस्तरीय समितिले आआफ्नो एनसीसी मार्फत वा समितिको वेबसाइटमा गएर ३१ मार्च २०२५ भित्र सदस्यताका लागि आवेदन दिन एनआरएनएको सदस्य बन्न योग्य सबै गैर आवासीय नेपालीहरूलाई अपिल गरेको छ ।
