काठमाडौं । गए रातीदेखि लागू हुनेगरी नेपाली सेनाले १३ जना (सहायक रथी) जर्नेलको सरुवा गरेको छ । त्यस्तै दुई जना (महासेनानी) कर्णेलको पनि सरुवा भएको छ ।
सरुवा हुनेहरुमा भर्ना छनौट निर्देशनालयका सहायक रथी शक्तिजंग बस्नेतलाई निमित्त चिफ अफ स्टाफ, मध्यपश्चिम पृतना हेडक्वार्टर पठाइएको छ ।
त्यस्तै राष्ट्रिय सेवा दलका महेशकुमार थापालाई सैनिक तालिम महानिर्देशनालय र उक्त महानिर्देशनालयका लीलाबहादुर खनाल क्षेत्रीलाई निमित्त प्रशासन रजिष्ट्रारको हैसियतमा वीरेन्द्र अस्पताल सरुवा गरिएको छ ।
यस्तै नम्बर ४ बाहिनी अड्डाका रोशनसमशेर जबरालाई राष्ट्रिय सेवा दलको निमित्त निर्देशक र सैनिक इन्टेलिजेन्स निर्देशनालयको निमित्त निर्देशकमा नम्बर २३ बाहिनी अड्डा,बागलुङका जगतबहादुर पौडेलको सरुवा भएको छ ।
यसैगरी नम्बर ६ बाहिनी अड्डाका रोजप्रताप जबरालाई भर्ना छनौट निर्देशनालयमा निमित्त निर्देशकको रुपमा पठाइएको छ भने नम्बर १४ बाहिनी अड्डाका राजेन्द्र श्रेष्ठलाई निमित्त चिफ अफ स्टाफ,पश्चिम पृतना हेडक्वार्टर खटाइएको छ ।
त्यस्तै मध्यपृतना हेडक्वार्टरमा निमित्त चिफ अफ स्टाफ नम्बर ३ बाहिनी अड्डाका नरेन्द्र मल्ललाई लगिएको छ । नम्बर २३ बाहिनी अड्डामा निमित्त बाहिनीपति पश्चिम पृतना हेडक्वार्टरका अर्जुन खड्का तोकिएका छन् ।
सरुवामा मध्यपृतना हेडक्वार्टरका सहायक रथी सुवासजंग थापालाई निमित्त बाहिनीपतिको हैसियतमा नम्बर ६ बाहिनी अड्डा,बैरेनी पठाइएको छ भने सैनिक इन्टेलिजेन्स निर्देशनालयका अमृतकाजी गुरुङ नम्बर ३ बाहिनी अड्डा,पोखराको जिम्मेवारीमा पुगेका छन् ।
मध्यपश्चिम पृतना हेडक्वार्टरका निर्जलबहादुर अधिकारीलाई नम्बर २६ बाहिनी अड्डामा सरुवा गरिएको छ ।
यता कर्णेलहरुमध्ये सैनिक सचिव विभागको अतिरिक्त समूहमा रहेका प्रशान्तविक्रम राणालाई नम्बर ४ बाहिनी अड्डामा निमित्त बाहिनीपति र उपत्यका पृतना हेडक्वार्टरका मनोज थापालाई निमित्त बाहिनीपतिको जिम्मेवारीसहित नम्बर १४ बाहिनी अड्डामा पठाइएको छ ।
![नेपाली सेनाका १३ सहायक रथी र २ महासेनानीको सरुवा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/nepal-army.jpg)