काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन अध्ययन गर्न समिति गठन गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी कल्याण कोषबाट सबै दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने विषयमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० को समयानुकूल संशोधन तथा परिमार्जन गर्न सिफारिस समिति गठन गर्ने निर्णय भएको प्रहरीको भनाई छ ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा उनले नेपाल प्रहरीले खाइपाई आएको सेवा सुविधा बढाउन प्रशासन महाशाखाबाटै समिति बनाउने निर्देशन दिने पहिलो निर्णय गरेका हुन् ।
