वीरगन्ज । जीतपुरसिमरा उपमहानगरपालिका-७ का एमालेबाट निवार्चित वडाध्यक्ष सुनिल गुप्ताविरुद्ध डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
चैत १ गते शुक्रबार होलीको दिन राती जितपुर निवासी समाजसेवी परशुराम गिरीको घरमा प्रवेश गरी कुटपिट, गालीगलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप वडाध्यक्ष गुप्तामाथि लागेको छ ।
घटना सम्बन्धमा चैत ३ गते साँझ पक्राउ परेका गुप्तालाई सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।
घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि वडाध्यक्ष गुप्ता नेतृत्वको समूहले गिरीको घरमा आक्रमण गरेको स्पष्ट भएको प्रहरीको दाबी छ । घटना क्रममा परशुराम गिरीले आफ्ना छोरा र नाति आक्रमणमा परेको भन्दै ज्यान जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट हवाई फायर समेत गरेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर मेलमिलाप गराउने प्रयास गरे पनि सहमति हुन नसकेपछि बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो ।
उक्त घटनाको बिषयमा सासंद कृष्णकुमार श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारीले पञ्चायती व्यवस्थाको जस्तो कार्यशैली देखाएको भन्दै हाउसमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संसदको आकस्मिक समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद श्रेष्ठले बाराका सिडिओ बसन्त अधिकारीका कारण बारा जिल्ला र खासगरी आफ्नो क्षेत्र बारा ४ का जनताले अनावश्यक दुःख पाइरहेको आरोप लगाए ।
‘बारा जिल्ला त्यसमा पनि खासगरी मेरो निर्वाचन क्षेत्रका व्यवसायी र आम नागरिकले प्रशासनबाट अनावश्यक दुःख झेली राख्नुपरेको छ । म गृहमन्त्रीज्युमार्फत बारा जिल्ला प्रशासनलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दछु,’ सांसद श्रेष्ठले भने ।
बाराको जीतपुरमा गत चैत १ गते राती भएको हवाई फायर काण्डका सम्बन्धमा सांसद श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारीले पिडकलाई उन्मुक्ती दिएर पिडितलाई थुन्ने मनसाय राखेको आरोप लगाए ।
‘पञ्चायती शासनलाई समेत माथ खुवाउने गरी बाराका सिडिओले काम गरिरहेका छन् । म यस सम्मानित सदनमार्फत जीतपुर घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सासंद श्रेष्ठले गृहमन्त्रीलाई ध्यानकर्षण गराएपछि प्रहरीले वडाध्यक्ष गुप्तालाई पक्राउ गरि मुद्दा चलाएको छ । उक्त घटनामा संलग्न रहेको गुप्ता लगायत १० जनामाथि मुद्दा चलाएको प्रहरीले जनाएको छ।
