काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) सन्तोष तामाङले सीमा नाकाहरुबाट भन्सारछली तस्करीको सेटिङका लागि विवादास्पद व्यक्तिलाई सादा पोसाकको रुपमा परिचालन गरेका छन् ।
दुई पटक निलम्बनमा परेका र हाल पनि सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका प्रहरी सहायक निरीक्षक (असई) मनोज यादवलाई एसपी तामाङले परिचालन गरेका हुन् ।
असई यादवलाई एसपी तामाङले घुमुवा कमाण्डरको रुपमा सादा पोसाकमा बाराका अमलेखगंजदेखि सिम्रौनगढसम्म मात्र होइन, पर्सासम्मको तस्करीको नेटवर्कसँग समन्वय गर्ने र असुली गर्ने जिम्मा दिएका छन् ।
यसअघिका एसपी महेन्द्र खड्काले राखेका घुमुवा कमाण्डर विनोद काफ्लेलाई विश्वास नगरी तामाङले असई यादवलाई घुमुवाको कमाण्डर राखेपछि बारामा झनै तस्करी मौलाएको छ ।
भन्सारछलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवलाई बाराका एसपी तामाङले घुमुवाका रुपमा खटाएर असुलीमा लगाएपछि सरुवा भएको २ महिना नपुग्दै विवादमा परेका छन् ।
हुन त संगठनमा एसपी तामाङलाईं अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्ने गरेको छ । पैसा भनेपछि हुरुक्कै हुने स्वभावका एसपी तामाङले पैसा नै उठाउनको लागि विवादित प्रहरी अधिकृतलाई राख्नु संगठनको नीति विपरित हो ।
त्यतिमात्र नभएर केही दिनअघि मात्रै ती घुमुवा असई यादवले केही सिम्रौनगढ नाकामा एक व्यापारीसँग २५ हजार घुस मागेपछि ठूलो विवाद भई हात हालाहाल नै भएको थियो । जुनकुरा प्रहरी महानिरीक्षकको सचिवालय र हेल्लो सरकारमा पुगेको थियो । तर, एसपीको आडमा उनीमाथि कुनै कारबाही नै भएन ।
असई मनोज यादव जागिरमा प्रवेश गरेदेखि नै प्रहरी आचरण विपरीतका विवादित काम गर्दै आएका बदनाम व्यक्ति हुन् । उनले मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुख जो भएर आउँछन् उनको लागि काम गर्ने गरेको स्रोत बताउँछ ।
विगतमा असई यादव
२०८० कात्तिकमा सर्लाहीमा दुई व्यापारीलाई अपहरण शैलीमा बन्धक बनाइ ५० हजार रुपैयाँ घुस लिएर गाडी र तस्करलाई छोडे । जतिबेला यादवले व्यापारीलाई नियन्त्रणमा लिएर ‘पैसा देउ नत्र मोटरसाइकलसहित भित्र थुनिदिन्छु साथै लागूऔषधमा फसाइ दिन्छु’ भनी व्यापारीलाई धाकधम्की दिई उनीहरुसँग रहेको १० हजार नगद लिई बाँकी ४० हजार रुपैयाँ स्थानीय एक जनाको खातामा जम्मा गर्न लगाएपछि व्यापारी र मोटरसाइकल छोडिदिएका थिए ।
त्यस्तै प्रहरी बृत्त बालाजुमा हवल्दार पदमा रहँदा भारतीय गोर्खा सैनिकमा भर्ति हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई २०७४ असोज ८ गते पाँच लाख रुपैयाँ असुलेका थिए । तर, १० गते पाँच लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेपछि निलम्बनमा परेका थिए ।
यसैगरी २०७४ साल चैतमा बाराको मधुवन प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा होस् या २०७९ सालमा पथलैया प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा यादवले प्रहरी संगठनका उच्चपदस्थ अधिकारीहरुको नाममा सीमा क्षेत्रमा व्यापारीहरुसँग अवैध असुली गरेको समाचार बाहिर आएको थियो ।
तत्कालिन डिआईजी उमेर रन्जितकारको कार्यकालमा उनले असुली धन्दा नै चलाए । यादवलाई घुमुवा राखेर तस्करीको नेटवर्क चलाएका कारण डिआईजी रन्जितकार विवादमा परेका थिए । जतिबेला रन्जितकार नै तानिने चर्चा चले पनि घुमुवा यादवलाई भने प्रहरी प्रधान कार्यालयले तानेको थियो ।
यसरी बद्नाम असईको कारण सीमा क्षेत्रका व्यापारी आजित भइसकेका छन् । फेरी पनि एसपीले उनलाई नै घुमुवा कमाण्डरको रुपमा खटाएपछि त्यस क्षेत्रका व्यापारीहरु त्रसित बन्न पुगेका छन् ।
यसरी संगठनका उच्चपदस्थ अधिकारीहरुको नाममा सीमा क्षेत्रका व्यापारीहरुसँग अवैध असुली गर्ने गरेका असई यादवमाथि नवनियुक्त प्रहरी महानिरीक्षकले कारबाहीको डण्डा चलाउलान् या नचलाउलान् त्यो हेर्न बाँकी छ ।
