काठमाडौं । एमाले मोरङ जिल्ला कमिटिका सदस्य किरण लामा र अपराधिक घटनामा विवादमा परिरहने रोनाल कँडेलको समुहसँग अभिषेक गिरीसहितको समूहको आइतबार मध्यराति विराटनगरमा दोहोरो झडप भएको खुलेको छ ।
विराटनगरको रत्ना होटलको क्यासिनो परिसरमा आइतबार राति करिव १२ बजे झडप भएको हो । झडपपछि दुवै समुह भागिसकेपछि प्रहरीको टोली घट्नास्थल पुगेको थियो । प्रहरीका अनुसार किरण लामा र रोनाल कँडेलविरुद्ध अभिषेक गिरीका भतिजा निकेश गिरीले उजुरी दिएका छन् ।
प्रहरी स्रोतका अनुसार अभिषेक गिरी राति रत्ना होटलको क्यासिनोमा थिए । त्यसपछि राति करिब १२ बजे किरण लामा र रोनाल कँडेल क्यासिनोमा पुगेका थिए । पटक–पटक क्यासिनोमा पसेर झगडा गर्ने गरेका कारण बाउन्सरले उनीहरुलाई गेटमै रोकेको थियो ।
यसैक्रममा भित्र छिर्दै गरेका अभिषेकका भतिजा निकेशलाई भने बाउन्सरले रोकेनन् । त्यही रिसमा लामासहितले निकेशलाई हात उठाए । त्यो देखेपछि अभिषेक क्यासिनोबाट बाहिर निस्किएपछि दुवै समुहबीच कुटाकुट भएको स्रोतले जनाएको छ । झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको प्रहरीको भनाई छ ।
मिटरब्याज असुलीको धन्धामा संलग्न रहेको आरोप लाग्ने गरेका लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन् । पर्शुराम बस्नेतको छत्रछायाँमा रहने गरेका लामा बस्नेतको राजनीतिक यात्रासँगै आफैं समूह चलाएर बसेका छन् ।
मोरङ प्रहरीका अनुसार कँडेल भने ७ पटक पक्राउ परिसकेका व्यक्ति हुन्् । उनी कांग्रेसका कार्यक्रमहरुमा देखा पर्ने गरेका छन् । घट्नाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने प्रहरीकै कमजोरीका कारण झडप भएको आरोप लगाएका छन् । नेपाली नागरिकलाई क्यासिनोमा प्रतिबन्ध भएपनि प्रहरीको वेवास्ताकै निर्वाध प्रवेश पाइरहेको देखिन्छ । पछिल्लो घटना पनि यही कारण भएको उनीहरुको बुझाइ छ ।
