काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ ।
पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा उनलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले गत असार १ गते उनीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको थियो ।
घटनाका क्रममा पाण्डे तत्कालीन गृह मन्त्रालयको सचिव रहेको पुष्टि भएको थियो ।
पाण्डेकी श्रीमती मञ्जुले गएको फागुन ११ गते सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौँ, महान्यायाधिवक्ताको कार्यालय रामशाह पथ, काठमाडौँ जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाइ बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
