काठमाडौं । काठमाडौंमा एक महिनाभित्र ९३३ जना फरार अपराधी पक्राउ परेका छन् ।
अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ९ सय ३३ जना फरार अपराधीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
जसमा १८९ जना महिला र सात सय ४४ जना पुरुष रहेको परिसरका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए । उनले महिनागत हिसाबमा फरार अपराधी पक्राउ तथा उनीहरुबाट कैद र जरिवाना असुल अहिलेसम्मकै उच्च रहेको जानकारी दिए ।
प्रवक्ता बोहराका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान, जवरजस्ती करणी, करणी उद्योग, लागुऔषध, चोरी, बहुविवाह, ठगी, किर्तेलगायत एक दर्जन बढी अपराधिक घटनामा संलग्नहरु छन् ।
जसमध्ये सबैभन्दा धेरै प्रहरी वृत्त सिंहदरबारले ३०१ जना र प्रहरी वृत्त स्वयम्भुले २६८ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । त्यस्तै सबैभन्दा थोरै प्रहरी वृत्त कीर्तिपुरले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी काठमाठौं प्रहरी प्रमुख भएर आएपछि फरार अपराधी पक्राउलाई प्राथमिकता दिएको जनाइएको छ ।

