पर्सा । यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख धर्मेन्द्रलाल कर्णको मिलोमतोमा यातायात कार्यालयमा व्यापक रुपमा भ्रष्टचार बढेको छ । प्रमुख कर्णले आफ्नो विश्ववासपात्रमार्फत रकम बुझि लिखित र ट्रायल परीक्षामा फेल भएकाहरुलाई नयाँ लाइसेन्सहरु दिँदै आएका हुन् ।
यातायात कार्यालय वीरगन्जमा पैसाको भरमा लाइसेन्स बनाउँदै गरेको रहस्य एकपछि अर्को खुल्दै आएको छ । प्रमुख कर्णले सवारी चालक अनुमतिपत्र बनाउनको लागि आएका सेवाग्राहीसँग बिचौलीयाहरु र आफ्ना कर्मचारीहरुमार्फत मोटो रकम लिएर लाइसेन्स बाँड्ने गरेको बताइन्छ ।
यातायात कार्यालय प्रमुख कर्ण कार्यालयभित्र बिचौलियाहरु परिचालन गरि अवैध रुपले लिखित र ट्रायल परीक्षाको भिडिओ इडिटिङ गरि ठूलो रकम लिई पास गराउने गरेको स्रोत बताउँछ । जुन प्रमाणहरु हामीसँग सुरक्षित छ ।
कार्यालयमा परिचालित बिचौलियाहरुले सेवाग्राहीलाई छिटोभन्दा छिटो लाइसेन्स दिलाइदिन्छु भनि हजारौं रुपैयाँ उनीहरुसँग उठाई कर्णलाई बुझाई उनले नयाँ लाइसेन्स दिने गरेको स्रोतको दाबी छ । उनको विश्वासपाधको रुपमा त्यहाँ बर्दी दाहालले काम गर्ने गरेका छन् ।
विश्वासपात्र रहेका दाहाल अरु कुनै ठाउँमा गएपनि पैसाको आडमा पुनः पटकपटक यातायात कार्यालय वीरगन्ज नै आउने गरेका छन् । जहाँ उनलाई कुन ठाउँबाट कति रकम उठ्छ ? कसलाई कति दिनुपर्ने सबै कुरा थाहा भएको कारण प्रमुख कर्णले उनलाई च्यापेको बताइन्छ ।
त्यसैगरि यातायातमा भइरहेको भष्ट्रचार रोक्नको लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरा जडान गरेपनि सिसि क्यामेरा हेर्ने रवि चौधरीले हाकिम कर्णको आदेशमा इडिट गरि ट्रायल परीक्षामा फेल भएकाहरुको भिडिओ हटाउने गरेको नाम नछाप्ने सर्तमा एक यातायातका कर्मचारीले बताए ।
प्रमुख कर्णले मोटरसाइकल लाइसेन्सको लागि १० देखि १५ हजार र ठुलो चार चक्के सवारीहरुको २० हजारदेखि २५ हजारसम्म र हेभी गाडीको लाइसेन्सको लागि ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म लिएर फेल भएकाहरुलाई समेत लिखित र ट्रायलमा पास गराउने गरेको स्रोत बताउँछ ।
प्रमुख कर्णले सुरु सुरुमा आएको दिनमा विश्वासपात्रको रुपमा रहेका नवाज हुसेनलाई सम्पुर्ण अधिकार दिएका थिए भन्ने आर्थिक कारोबार नमिलेपछि अहिले सम्पूर्ण आर्थिक कारोबारदेखि पत्रकारहरुसम्म आफै डिलिङ गर्ने र केहीकाम दाहालले गर्ने गरेको यातायातका ती कर्मचारी बताउँछन् ।
कर्णले आफ्नो पैसाको कुरा नमिलेपछि विश्वासपात्र हुसेनलाई जिम्मेवारीबाट हटाएर आफैले मन्त्रालयदेखि लिएर पत्रकार, पुलिससम्म मिलाउने गरेका छन् । नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन् ।
त्यहाँको (यातायात कार्यालय वीरगन्ज) भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको वीरगन्जबासी बताउँछन् । यसरी लिखित परीक्षा भएको र ट्रायलको परीक्षामा अधिकांश मान्छे फेल भएपनि बिचौलियाहरुमार्फत कर्णले मोटो रकमको नजराना बुझि पास गराएको तथ्यांक प्रमाणको लागि हामीसँग सुरक्षित रहेको छ ।
३ महिना पहिला यातायात व्यवस्था कार्यालय वीरगन्जमा लिखित र ट्रायल परीक्षाको प्रत्येक दिन अख्तियारको टोली नै वीरगन्जमा आउने गथ्र्यो, तर विगत दुई तिन महिनादेखि हुँदै आएको लिखित तथा ट्रायल परीक्षामा सो टोली नआएपछि यातायातका प्रमुखले आफ्नो मनपरी गर्दै गरेको सेवाग्राही स्वयम् बताउँछन् ।
अहिले यातायात व्यवस्था कार्यालय वीरगन्जको ट्रायल प्रमुखमा रामप्रवेश महतो छन् । महतो आफैले छुट्टाछुट्टै बिचौलिया परिचालन गरि लाखौं रुपैयाँ असुली गरि धमाधम लाइसेन्स दिँदै आएका छन् ।
कर्णको विश्ववासपात्रको रुपमा रहेका दाहाल र बिचौलियाहरुको कोठामा अहिले पनि चेकजाँच हुने हो भने बिचौलिया, नेता, पत्रकारहरुले दिएको चिठहरु फेला पर्छन स्रोतको दावी छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख कर्णले अख्तियारले पनि केही नगर्ने भन्दै हिँड्ने गरेको समेत पाइएको छ । यसरी यातायात कार्यलय वीरगन्जमा धमाधम मोटो रकमको नजराना बुझि नयाँ लाइसेन्स दिँदै आएपनि अख्तियार मौन बस्नु शंकाको बिषय बनेको छ ।
यातायात कार्यालयमा अख्तियारले बेला बेलामा छापा मारी निगरानी राखेको समयमा सयमा २० प्रतिशत मात्रै पास हुने गरेको थियो भने अहिले ३ महिनादेखि निगरानी गर्न छाडेपछि सयमा ८० प्रतिशत लिखित र ट्रायल परीक्षामा पास हुने गरेका छन् ।
यातायात कार्यालयका प्रमुख कर्ण कहिले आफू बिरामी परेको नाममा घर विदा बस्ने, कहिले काठमाडौँ जाने र अहिले विरामीको नाटक गरेर दिल्ली गएको यातायात कार्यालयका कर्मचारीहरु नै बताउँछन् ।
कर्ण लिखित र ट्रायलको सूचना यातायात कार्यालयले जारी गरेपछि पैसा असुल्न मात्र कार्यालयमा वस्ने गरेको बताइन्छ ।
यातायता कार्यालय वीरगन्ज पहिलेदेखि नै भ्रष्टाचार हुने कार्यालयको रुपमा बदनाम रहेको छ । घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु यातायात कार्यालयमा सामान्य घटना जस्तै बनीसकेका छन् । यस्ता गतिविधि भइरहेको हुँदा पनि सम्बन्धित निकाय तथा अख्तियारको ध्यान जान अति आवश्यक देखिएको छ ।
