काठमाडौं । होली खेल्ने क्रममा छुरा प्रहार गरी एक युवकको हत्या भएको विरोधमा आइतबार जनकपुरको जलेश्वर सडक खण्डमा प्रदर्शन भएको छ । मृतकका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका हुन् ।
छुरा प्रहारबाट ज्यान गुमाएका पप्पु यादवको छोरा १८ वर्षीय आशु यादवको शव सडकमै राखेर प्रदर्शकारीले जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका हुन् ।
घटनामा संलग्न दोषी सवैलाई पक्राउ गरी कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार अनुसार शनिबार साँझ करिव ५ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धि चोकमा होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेद्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले धर्मेन्द्रलाई छुरासहित पक्राउ गरेको छ ।
आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएपछि आशुको शव लिएर आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।
