काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै वंशको आधारमा देश चलाउनेहरूलाई देशलाई लुट्न मात्र जान्ने भन्दै कडा टिप्पणी गरेका छन्।
काठमाडौंमा समाजवादी मोर्चाले आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगेमा बर्बाद हुने छ। अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा उठिरहेको छ। पुँजीवादी व्यवस्था बदल्नु पर्ने छ, तर सामान्तवादी व्यवस्थामा फर्किनु हुँदैन।”
उनले थपे, “वहिनीहरूको शासन १०४ वर्ष र २४० वर्षसम्म चल्यो, तर अब सत्ताको दुरुपयोग गरेर बसेका व्यक्तिहरूबाट मुक्ति चाहिन्छ। अब वंशको शासनको कुरा छोडेर, समाजवादी व्यवस्थामा जानुपर्ने हो।”
अध्यक्ष नेपालले अहिले नेपाली समाजवादको विशेषतासम्बन्धी छलफल भइरहेको भन्दै, समाजवादी व्यवस्थामा जानुपर्ने कुरामा जोड दिए।
