काठमाडौं । मार्क कार्नीले क्यानाडाका नयाँ प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेका छन् । अर्थशास्त्री कार्नी राजनीतिमा प्रवेश गरेको केही दिनमै लिबरल पार्टीको नेता चुनिएर क्यानडाको प्रधानमन्त्री बनेका हुन् ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको व्यापार युद्धको बीचमा क्यानडाका प्रधानमन्त्री बनेका कार्नीले नौ वर्षदेखि प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापित गरेका हुन् । अमेरिकासँगको व्यापार युद्धका कारण क्यानाडाको राजनीति पछिल्लो समय धेरै प्रभावित छ ।
आगामी निर्वाचनमा समेत कार्नीले ट्रम्पसँग जुध्न सक्षम उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्न अपेक्षा गरिएको छ ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री कार्नीले ट्रम्पसँग कुरा गर्न आफू उत्सुक रहेको बताएका छन् तर उनले कुनै पनि हालतमा आफ्नो देश अमेरिकाको राज्य नहुने प्रष्ट पारे ।
अमेरिकाले क्यानडाको उत्पादनमा लगाएको अतिरिक्त कर नहटाउँदानसम्म त्यसको जवाफमा आफ्नो मुलुकले पनि अमेरिकी उत्पादनमा लगाएको कर कायमै राख्ने चेतावनी पनि उनले दिएका छन् ।
तर अर्थशास्त्रीहरूले ट्रम्पको कर नीति पूर्ण रूपमा लागु भएमा क्यानाडामा मन्दीको जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् ।प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो निर्णयमा, कार्नीले उपभोक्ता कार्बन मूल्य निर्धारण कार्यक्रमलाई समाप्त गरेका छन् । यो कार्यक्रम निवर्तमान प्रधानमन्त्री ट्रुडोको प्रमुख वातावरणीय नीतिमध्ये एक थियो ।
कार्नीले क्याबिनेट बैठकमा जलवायु परिवर्तनसँग लड्न कदम चाल्ने र ठूला उत्सर्जकहरूको लागि औद्योगिक कार्बन कर जारी राखिने बताएका छन् । यसैबीच कार्नीको पहिलो विदेशयात्रा आगामी साता बेलायत र फ्रान्समा हुने अपेक्षा गरिएको छ।
