काठमाडौं । प्रहरी नियमावली, २०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ । जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तह बढुवा गर्न सकिने उल्लेख छ ।
प्रहरी महानिरीक्षक नेतृत्वको प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठकले मूल्यांकन समितिको सिफारिसका आधारमा बढुवाको निर्णय हुने गर्छ । बैठकमा एसएसपीसम्मका प्रहरी अधिकृतहरु पीसीसीका सदस्यहरु हुन्छन् ।
सोहीअनुरुप गत साउन १ गते आर्थिक वर्ष २०८०/८१ भर गरेका कामको आधारमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले १० प्रहरीलाई विशेष बढुवा गरेर पुरस्कृत गरे । जतिबेला शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेका कारण बढुवा गरिएको उल्लेख थियो ।
तर, तीन दिनपछि अवकाशमा जान लागेका उनै आईजीपी कुँवरले प्रहरी नियमावली विपरित पछिल्लो समय ९ जनालाई विशेष बढुवा नियुक्त भन्दै पुरस्कृत गरेका छन् । उनले आफ्नो भतिज पर्नेदेखि भान्सामा काम गर्ने र आफ्नी श्रीमतीको ड्राइभरलाई समेत बढुवा गरेको पाइएको हो ।
प्रहरी वृत्त सातदोबाटो ललितपुर दरबन्दी भई विमानस्थलमा कार्यरत प्रहरी हवल्दार विनोद कुँवरलाई प्रहरी बरिष्ठ हवल्दारमा बढुवा गरेका छन् । जबकी उनी आईजीपी कुँवरको नातामा भतिज पर्दछन् । आईजीपीकै आडमा हवल्दार कुँवरसमेत दरबन्दी नबसेर विमानस्थलमा सामान्य ड्युटी गर्दै आएका थिए ।
यसैगरी प्रहरीका हाकिमहरुको लगेज, झोलाहरु ल्याउन विमानस्थलमा सहयोग गर्ने राय थरका बरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरिएको छ । २५ फागुनको निर्णयअनुसार सहायक हवल्दारहरु रुकमणि चन्द, देव बहादुर कार्की र सन्तोष बस्याल समेत हवल्दारमा बढुवा भएका छन् ।

त्यसैगरी, वडा प्रहरी कार्यालय, नारायणगढ चितवन दरबन्दी भई आईजीपीपत्नी लक्ष्मी पराजुली कुँवरको ड्राइभर रहेका भुपाल सारुलाई समेत विशेष बढुवामा समेटिएको छ । प्रहरी सहायक हवल्दार सारुलाई हवल्दारमा बढुवा गरिएको हो ।
त्यसैगरी कर्मचारी प्रशासनमा कार्यरत सहायक हवल्दार सुरेश बहादुर बिष्टलाई समेत हवल्दार बनाइएको छ । उनको दरबन्दी नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, कैलालीमा थियो । तर, आईजीपी कुँवरकै आडमा उनी कप्र शाखामा कार्यरत थिए ।
त्यस्तै कप्र शाखामै कार्यरत सुवास खतिवडालाई समेत बरिष्ठ नायब निरीक्षक (सई) मा बढुवा गरिएको छ । सईबाट बरिष्ठ सईमा बढुवा भएका बिष्टले दरज्यानी चिन्ह समेत लगाइसकेको स्रोत बताउँछ ।
बढुवा गर्दा उनीहरुलाई कुन दफाको आधारमा गरिएको खुलाइएको छैन । जहिले असार मसान्ततिर निकालनुपर्ने विशेष बढुवा आईजीपी कुँवरले आफू घर जाने बेलामा आफूसँग काम गरेकालाई रिझाएर जान खोजेको उनकै सचिवालयमा कार्यरत एक प्रहरी अधिकृत बताउँछन् ।
‘उत्कृष्ट काम गरेकालाई छाडेर आफ्नो नजिकको मान्छे, आफ्नो घरमा सहयोग गरेको मान्छे, आफूसँग हिँडेको केटो भनेर समय नपुग्दै प्रहरी नियमावलीलाई नै कुल्चेर विशेष बढुवा भन्दै पुरस्कृत गर्नु चिफसा’पको सबैभन्दा ठूलो गल्ती हो,’ ती प्रहरी अधिकृत भन्छन् ।
योभन्दा अगाडि पनि आईजीपी कुँवरले एक जनालाई यसैगरी विशेष बढुवा दिइएको पाइएको छ । आईजीपी निवासमा कार्यरत सिपाही बुद्ध छिरिङ तामाङलाई सहायक हवल्दारमा बढुवा गरिएको थियो । जबकी ती सिपाही आईजीपीको भान्सामा काम गर्ने र आईजीपीलाई मालिस गर्ने व्यक्ति हुन ।
उनी २०७७ को सिपाही हुन् । यसअघि २०७० ब्याचका सिपाहीहरु बढुवा हुन नपाइरहँदा आईजीपी कुँवरले आफ्नो भान्सामा काम गर्नेलाई पुरस्कृत गरेर नमूना प्रस्तुत गरेका छन् ।
‘आईजीपी कुँवरको एकलौटी निर्णयले यो बढुवा निस्केको हुनपर्छ,’ ती प्रहरी अधिकृतले भने, ‘नत्र सामूहिक रुपमा पीसीसी बैठक बसेर छलफल गरेको भए सायद सबै आईजीपी कुँवरको घरमा काम गर्नेदेखि ड्राइभर, भतिजाहरु पर्दैनन्थे होला ।’
सम्भवतः आईजीपी कुँवरले नाम तोकेर पठाएपछि कप्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुक्ति प्रसाद सापकोटाले हस्ताक्षर गरेको पत्र बाहिरिएको छ ।

000
यतिमात्र नभएर आईजीपी कुँवरले आफ्नै पिएसओका रुपमा कार्यरत यमकुमार श्रेष्ठलाई ललितपुरको चापागाउँ वृत्तको इन्चार्जमा खटाएका छन् भने अर्का इन्सपेक्टर सन्तोष न्यौपानेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्रमुखमा खटाइएको छ ।
न्यौपानेलाई प्रहरी श्रीमती संघकी अध्यक्ष समेत रहेकी पराजुलीको जोडबलमा दाङ पठाइएको हो । पछिल्लो समय न्यौपाने श्रीमती संघको कार्यालयमा कार्यरत थिए ।
तर, गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी कुवरको काज आदेश नै रद्ध गरिदिएका छन् । आफूअनुकुल निर्णय गरेर काज सरुवा निकालेको भन्दै गृहसचिव दुवाडीले काज रद्ध गरिदिएका हुन् ।
