काठमाडौं । महोत्तरीकी एक १० वर्षीया बालिकालाई अश्लिल शब्द प्रयोग गरेर दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई (प्रहरी नायब निरीक्षक) धर्वेन्द्र महतो पक्राउ परेका छन् ।
महोत्तरीको लोहारपट्टीमा रेल्वे सुरक्षार्थ खटिएका महतोले शुक्रबार विहान करिव ९ बजे स्थानीय बालिकालाई दुव्र्यहार गरेको आरोप लागेको छ । उनी रेल्वे सुरक्षा बेसक्याम्पका सहायक हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेका थिए । सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।
त्यसपछि विवाद सुरु भएको थियो । विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले महतोलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
