काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवर यसै साता अवकाशमा जाँदैछन् । नेपाल प्रहरीको ३० औँ आईजीपी कुँवर २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए । मन्त्रिपरिषद्ले उनको पद लम्ब्याउने बारे कुनै निर्णय नगरेमा उनी चैत ५ मा सेवा निवृत्त हुन्छन् ।
कुँवरसँगै उनका ब्याचमेट ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि अवकाशमा जाँदैछन् । एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई यसै साता अवकाशमा जान लागेका हुन् ।
चैत ५ बाट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुव राउत पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् । प्रहरी महानिरीक्षक कुँवरको ब्याच प्रहरी निरीक्षकमा भर्ना भएकै वर्ष प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका सञ्जयबहादुर राउत र श्यामकुमार राई पनि अवकाश हुने भएका छन् । उनीहरु प्रहरी उपरीक्षक (एसपी) बाटै अवकाश हुने भएका हुन् ।
उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।
यसअघि कुँवरकै ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा लगायत पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भएका थिए ।
त्यस्तै पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालले पनि उमेर हदकै कारण ३० वर्षे सेवावधि पूरा गर्न पाएनन्। उनीहरू डीआईजीबाटै अवकाश भए ।
0000
आईजीपी कुँवरको अवकाशसँगै ३१ औं आईजीपी हुन तीव्र प्रतिस्पर्धा सुरु भएको छ । चैत ५ मा नयाँ आईजीपी नियुक्त हुने अधिकृतहरु आ-आफ्नो ठाउँबाट लबिङमा लागेको पाइएको छ । एआईजीहरू दीपक थापा, सुदिप गिरी र टेक तामाङ प्रहरी महानिरीक्षकको दाबेदार हुन् ।
३१ औँ महानिरिक्षक बन्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडी दिपक थापा छन् । मेरिट लिस्टको एक नम्बरमा भएको हुनाले मन्त्रिपरिषद्ले उनलाई नै महानिरीक्षक नियुक्त गर्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
त्यस्तै प्रहरी महानिरीक्षक बन्ने दौडमा रहेका गिरी र तामाङ पनि संगठनमा व्यवसायीक प्रहरी अधिकृत हुन् ।
यसअघि पटकपटक चर्चामा आएको तर अगाडि नबढेको प्रहरी विधेयक संसदमा पेस भइसकेको छ । नयाँ प्रहरी ऐन कार्यान्वयनमा नआए उनीहरूको पनि सेवा अवधि छोटो हुनेछ ।
अहिलेकै व्यवस्था कायम रहे दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ २०८२ भदौ १९ गतेदेखि अनिवार्य अवकाश हुनेछन् । उनीहरू तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् । एकजना आईजीपी र बाँकी दुईजना एआईजीबाटै अवकाश हुने अवस्था छ ।
त्यसपछि डीआईजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल भने २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहने छन् । आईजीपी कुँवरकै ब्याचको वैकल्पिक सूचीमा रहेका उनीहरू २०५२ कात्तिक २७ गते मात्रै नियुक्त भएका थिए ।
सरकारले सम्भवत उनीहरुमध्ये एकजनालाई ३२ औं आइजीपी नियुक्त गर्नुपर्ने हुन्छ ।
