काठमाडौं । कास्की प्रहरीले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी प्रयोग तथा जुवारसट्टाबाजी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्वतको जलजला गाउँपालिका– ३ का रूपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका– ५ का विक्रम बानियाँ, म्याग्दीकै रघुगंगा गाउँपालिका– २ का रोजन केसी, म्याग्दीकै बेनी– २ का सज्जन घिमिरे र म्याग्दी रघुगंगा– २ का सन्दीप कटुवाल छन् ।
पोखरा महानगरपालिका– १४ अनुपम टोलमा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको एसपी ओलियाले बताए । प्रहरीले उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पोखरास्थित रूपेन्द्र जिसीको साढे तीन तलाको घरबाट प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा÷सट्टाबाजीमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस फेला पारेको एसपी ओलियाले बताए ।
उनीहरुको साथबाट प्रहरीले मोबाइल फोन ३१ थान, कम्प्युटर मनिटर दुई थान, कम्प्युटर सिपियू तीन थान, ल्यापटप चार थान, आइप्याड एक थान, किबोर्ड दुई थान, माउस एक थान, राउटर चार थान, पेनड्राइभ तीन थान, हार्डडिक्स एक थान, मल्टिप्लक एक थान, चार्जर ११ थान, युएसबी पोर्टसहितको स्टेन्ड एक थान, स्ट्याम्प छाप एक थान बरामद छ ।
अनुसन्धानका लागि उनीहरूलाई आइतबार नै जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको छ ।
३० करोडको कारोबार
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले ३० करोडको कारोबार गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यासएप, चिमिएप, युएसडिटीमार्फत तत्काल उपलब्ध तथ्यांकअनुसार ग्याम्बलिङअन्तर्गत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोबार गरेको प्रहरी बताउँछ ।
उनीहरूले दैनिक तीन सिफ्ट खेलाउने र कम्तीमा एक सिफ्टको तीन हजार अमेरिकी डलरको दरले अनलाइन ग्याम्बलिङ गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
पक्राउ पर्नेहरू पिएचडी गर्दै गरेकादेखि आइटी इन्जिनियर र व्यापारी पृष्ठभूमिका रहेका छन् । पक्राउ परेका पाँचमध्ये मुख्य नाइके रूपेन्द्र जिसी रहेको र अन्य चारजना उनका आफन्त रहेको खुलेको छ ।
आइटी इन्जिनियरिङमा पिएचडी गर्दै गरेका रूपेन्द्र १० वर्षदेखि अमेरिका बस्दै आएकामा एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका थिए । सोही क्रममा प्रहरीले उनीसहित ५ जनालाई पक्राउ गरेको हो ।
