काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमाले दुई ठुला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरूको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोदोहोर्याएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाका हिजो (आइतबार) विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले कांग्रेससँग भएको सहमतिबमोजिम समयमै शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिने कुरा राख्दै आएका छन् । ओलीले यो कुरा देउवाको प्रदेश पुगेपनि दोहोर्याए ।
सो क्रममा उनले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताए ।
जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा प्रधानमन्त्री ओलीको आग्रह थियो ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने चेतावनी दिए ।
उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरे ।
