काठमाडौं । अनुमतिबिना काठमाडौं आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरू फागुन १२ मा काठमाडौं आएर अलफ्ट होटलमा बसेका थिए । पञ्जाबबाट भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौं आएका हुन् ।
नेपाल प्रहरीको आधिकारिक संयन्त्रलाई जानकारी नदिई भारतीय प्रहरीको टोलीले आरोपी पक्राउ गर्न राजधानीको नागार्जुनमा रहेको एक रेस्टुरेन्टमा खानतलासी गरेको थियो । भारतीय प्रहरीको आग्रहमा विशेष ब्युरोले समेत खोजिरहेका ती व्यक्तिलाई भारतबाट आएको टोलीले नै बिनासमन्वय लान खोजेको हो ।
तर, उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको पाइएपछि सिआईबीले नियन्त्रणमा लिएको हो । ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले भारतीय दूतावासको जिम्मा समेत लगाइसकेको छ ।
प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्गमार्फत भारत फिर्ता पठाएको छ ।
डिएसपी छानबिनमा
सोही प्रकरणमा नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तव छानबिनमा तानिएका छन् । लमजुङ प्रहरी प्रमुख समेत रहेका श्रीवास्तवलाई जिम्मेवारीमुक्त गरेर प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको हो ।
गोप्य स्रोतकाअनुसार प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गर्न गुपचुप रूपमा समिति नै बनाएको छ । डिएसपी श्रीवास्तवले नै ती भारतीय प्रहरीहरुलाई प्रहरी संगठनको आधिकारीक निकायसँग समन्वय नै नगरी सहयोग गरेको खुलेको छ ।
एकदिन प्रहरी हिरासतमा रहेका भारतीय प्रहरीहरुले सोधपुछको क्रममा लमजुङका डिएसपी निशान्त श्रीवास्तवले सहयोग गरेको बताएको पाइएको छ । ‘उनीहरूले लमजुङका डिएसपीसँग सम्पर्क गरेछन्। डिएसपीले सहयोग गरेको देखियो,’ एक प्रहरी अधिकृतले भने ।
डिएसपीले समेत कसैलाई पनि जानकारी नदिई पन्जाब प्रहरीलाई सहयोग गरेपछि श्रीवास्तवमाथि छानबिन सुरु भएको हो । ‘उनीहरू पन्जाबबाट आएका रहेछन्। छापा मार्ने काममा नेपाल प्रहरीको समन्वय भएको भए राम्रो हुन्थ्यो तर त्यसो गरेको देखिएन,’ एक प्रहरी अधिकृतले भने ।
नेपाल आउने प्रहरीहरुमा विक्रमजित सिंह, सुरेन्द्रजित सिंह, वीरेन्द्रजित सिंह, पुष्पेन्द्र सिंह, गगनदीप सिंह, रवीन्द्रप्रताप सिंह र मनीष सिंह थिए । उनीहरुले काठमाडौंमा आएर आफ्ना नागरिक लिएर जान खोजेका थिए ।
