काठमाडौं । सरकारले ३१ औं प्रहरी नेतृत्वको फाइनल खेल तालिका चैत ५ गतेका लागि तोकेको छ । विजेता को हो ? भनेर निर्णय दिने अधिकार, मन्त्रीपरिषद्लाई छ । अबको मन्त्रीपरिषद् बैठकले सायद निर्णय सार्वजनिक गर्नेछ ।
आईजीपी नियुक्तिको फाइनल खेल अघिल्लो पटक जस्तै प्रोटेष्ट होला-नहोला त्यो अर्को विषय हो । अपेक्षा गरौं यसपाली फेयर प्ले हुनेछ । तर समयको अन्तिम राउण्डमा कसले बाजी मार्छ, यसै भन्न सकिने अवस्था छैन ।
खेल खेल्ने खेलाडीलाई भन्दा दर्शकलाई बढी उकुसमुकुस हुने गर्छ । तर के खेलाडी त्यति ढुक्क हुन्छन् ? हुँदैनन् भन्ने कुरा विश्व फुटबलका फ्रिकिक स्टार डेभिड बेकह्यामको पेनाल्टी हेरे पुग्छ, कति नर्भस हुन्छन् भन्ने कुरा ।
करीब ८० हजार प्रहरीको भावी नेतृत्वको दौडको पहिलो नम्बरमा देखिएका छन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा । उनीसँगै प्रतिस्पर्धामा छन् एआईजीद्धय सुदिप गिरी र टेक बहादुर तामाङ ।
एआईजी थापा यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख छन् थापा । नेपाल प्रहरीमा सेवा प्रवेशको क्रममा एआईजी थापाले आफ्नो पद, प्रतिष्ठा र लोकप्रियता धेरै नै बढाएका छन्, काम, मेहनत, इमान्दारिता र पेशाप्रतिको लगावले ।
त्यस्तै एआईजी गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख छन् भने एआईजी तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएकाले प्रहरी महानिरीक्षक (आईजीपी) छान्न सत्तारुढ दलको राजनीतिक लबिङले प्रभाव पार्नेछ । अन्तिम निर्णय गर्ने स्वविवेक भने सरकारसँग नै सुरक्षित हुनेछ ।
सम्भावित आईजीपीले राजनीतिक लबिङका लागि दौडधूप समेत सुरू गरेको स्रोतले जनाएको छ । आईजीपी बन्न प्रतिस्पर्धीले नेकपा एमाले अध्यक्ष समेत रहेका ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो पक्षमा लबिङ गराउन भेटघाट र छलफल तीब्र बनाएका छन् ।
आईजीपी नियुक्त गर्दा बरियता र कार्यक्षमता मूल्यांकनलाई समेत ख्याल गर्ने भएपनि अन्ततः उपयुक्त लागेको व्यक्तिलाई आईजीपी बनाउने सर्वाधिकार सरकारलाई छ । त्यसैले आईजीपी नियुक्तिमा राजनीतिक प्रभाव र निकटताले समेत ठूलो भूमिका खेल्छ ।
प्रहरी संगठनले सरकारको नीति र नेतृत्व अनुसार काम गर्नुपर्ने भएकाले प्रहरी संगठनको बढुवा र नेतृत्व हस्तान्तरणमा सत्तारुढ दल एमाले र कांग्रेस हावी हुने देखिएको छ । जसकारण बढुवाको प्रतिस्पर्धामा रहेका व्यक्तिहरू आफूलाई सत्तारुढ दल निकट देखाउने दौडमा रहेका छन् ।
त्यसैले आईजीपी नियुक्तिमा ओली र देउवाको विवेकले निर्णायक भूमिका खेल्ने चर्चा छ ।

आन्तरिक मूल्यांकन र वरियताका आधारमा एआईजी थापा पहिलो नम्बरमा छन् भने त्यसपछिको वरियतामा गिरी र तामाङ छन् । तर, प्रतिस्पर्धीहरु आईजीपी बन्नकै लागि प्रधानमन्त्री ओली निकटका व्यक्तिहरुलाई भेटघाट गर्दै हिँडेको स्रोत बताउँछ ।
तर, नेपाल प्रहरीको आईजी हुने दौडमा रहेका तीन दावेदार मध्ये एआईजी थापा प्रधानमन्त्रीको नजरमा परेको जानकारहरु बताउँछन् । एआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याकंनमा समेत अघि रहेका थापा आईजीपीको प्रबल दाबेदार हुन् ।
एआईजी थापालाई आईजीपी नियुक्त गर्दा सत्ता साझेदारी दल नेपाली कांग्रेस समेत विवाद गर्न चाहँदैन । कारण अहिलेलाई थापा आईजी भएपनि ५ महिनापछि ३२ औं आईजीपी नियुक्तिमा मेसो मिलाउन थालिएको बताइएको छ ।
००००
३१ औं प्रहरी नेतृत्वको प्रतिस्पर्धामा रहेका तीनैजना हालका आईजीपी बसन्त बहादुर कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
विद्यमान प्रहरी नियमावलीको व्यवस्था अनुसार ३० वर्षे सेवाअवधि पूरा हुँदा कुँवरले अनिवार्य अवकाश पाउने भएका हुन् । चैत ५ गते कुँवर मात्रै होइन, उनीसँगै सेवा प्रवेश गरेका एआईजी र प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु पनि सेवाबाट बिदा हुनेछन् ।
एआईजहरु टेक प्रसाद राई, बुद्धी गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई र डिआईजीहरु गणेश चन्द, भोला रावल र धुव्रराज राउत पनि अनिवार्य अवकाश पाएर संगठनबाट बिदा हुनेछन् । कुँवरको ब्याच २०५१ चैत १० गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।
आईजीपी कुँवरको टोलीले अवकाश पाउन एक हप्ता मात्रै बाँकी रहँदा भावी आईजीपीबारे चर्चा सुरू भएको हो । कुँवरको ब्याचमेट अवकाशमा गएपछि भावी प्रहरी नेतृत्वको रुपमा थापा, गिरी र तामाङमध्ये एक जनालाई हेरिएको छ ।
आईजीपी कुँवरपछि नेतृत्वमा आउने व्यक्ति पाँच महिना मात्रै नेतृत्वमा रहनेछन् । त्यसैले अहिले नै ३२ औं आईजीपीका लागि समेत लबिङ चलेको बालुवाटार स्रोत बताउँछ ।
भदौपछि नियुक्त हुने आईजीपीको जग निर्माण एआईजी बढुवाका क्रममा हुने भएकाले एआईजी बढुवालाई समेत प्रहरी संगठनभित्र महत्वका साथ हेरिएको छ ।
