काठमाडौं । १४ दिनअघि पोखरास्थित सशस्त्र प्रहरीको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको शौचालयमा मृत अवस्थामा फेला परेकी सशस्त्र प्रहरी इन्स्पेक्टर २८ वर्षीया सन्तोषी महतको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ। हालसम्मको अनुसन्धानमा त्रिपक्षिय सम्वन्ध उनको मृत्युको कारण देखिएको छ।
प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे घर भएकी महत सशस्त्र प्रहरी संगठनभित्रकै दुई जना पुरुषसँगको सम्वन्धमा थिइन्। परिवारको जाहेरीका आधारमा सुदूरपश्चिम घर भर्ई तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी समातिएका छन्। उनी महतको प्रेमी भएको खुलेको थियो।
तर, अनुसन्धानका क्रममा भने इन्स्पेक्टर महतको संगठनभित्रकै अर्को पुरुषसँग अन्तरंग सम्बन्ध रहेको देखिएको छ। महतले प्रयोग गर्ने मोवाइल लगायतका सञ्चारसाधनहरू चेकजाँच गर्ने क्रममा इन्स्पेक्टर जोशीसँगको प्रेम सम्वन्धमा रहेकी महत तालिम केन्द्रकै गुरुबा (सशस्त्र हवल्दार) रमेश शाहीसँग अन्तरंग सम्वन्धमा रहेको खुलेको छ।
शाहीसँगको सम्वन्ध जोशीले थाहा पाएपछि भनाभन भएको र जोशीले शाहीलाई हातपातसमेत गरेको अनुशन्धानमा देखिएको छ। घटनाको अनुसन्धान एवम् मोवाइल तथा सामाजिक सञ्जालमा उपलब्ध म्यासेजहरुको विश्लेषण गर्दा शाहीसँग विगत तीन वर्षदेखि सन्तोषीको मित्रता देखिएको छ भने इन्स्पेक्टर जोशीसँग भने २ वर्षदेखि प्रेमसम्बन्धमा रहेको खुलेको छ।
प्रेमी भनिएका जोशीलाई सन्तोषीमाथि केही समयअघिदेखि नै शंका उत्पन्न भएको देखिएको छ। यसैक्रममा गत ७ फागुनमा प्रजातन्त्र दिवस परेकाले सन्तोषी आउट गएकी थिइन्। त्यो दिन उनी हबल्दार शाहीसँग पोखराको लेकसाइडमा बसेको देखिएको छ। इन्स्पेक्टर जोशी पनि तनहुँबाट काजमा पोखरा पुगेका थिए।
विभिन्न माध्यमबाट प्रेमिकाको गतिविधि नियालिरहेका जोशीको ९ फागुनको बेलुका सन्तोषीसँग भेट भएको थियो। जोशीलाई भेट्न सन्तोषी लामपाटनस्थित तालिम केन्द्रबाट निस्किएकी थिइन्। त्यो रात उनीहरु लेकसाईडको होटलमा सँगै बसेका थिए। मध्यराती करिव १ बजे सन्तोषीलाई उनै हवल्दारको म्यासेज गएको देखिएको छ।
मध्यरातमा निदाई रहेकी सन्तोषीको मोवाईलमा परपुरुषको आपत्तिजनक म्यासेज देखेपछि जोशीसँग १० फागुनको बिहान झगडासमेत भएको थियो। यद्यपी, प्रेमीकाले आफनो कमजोरी स्विकार गरे आफु विवाह गर्ने योजनामै रहेको जोशीले बयान दिएका छन्।
त्यही योजना अनुसार उनले भोलिपल्ट हवल्दार शाहीलाई बोलाएर सम्झाएका पनि थिए। सन्तोषीकै अगाडि उनले शाहीलाई दुई–चार झापड हिर्काएको समेत खुलेको छ। त्यसपछि सन्तोषी पनि ‘अबदेखि यस्तो गर्दिन’ भन्दै जोशीसँग माफी मागेर तालिम केन्द्र फर्केकी थिइन्।
त्यसै दिनको मध्यराती सन्तोषीले गलत निर्णय लिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्। शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
अहिले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंह नेतृत्वको ५ सदस्यीय छानविन समितिले घट्नाको अनुसन्धान गरिरहेको छ।
