काठमाडौं । सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै अर्का इन्सपेक्टर अनुसन्धानको घेरामा तानिएका छन् । इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको छ ।
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका इन्स्पेक्टर २३ नं.गण तनहुँमा कार्यरत हुन् । जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको परिवारले प्रहरीमा दिएको जाहेरीमा दाबी गरिएको छ ।
यता सशस्त्र प्रहरीले यो घटनाको छानबिन गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् ।
उनले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
