काठमाडौँ । फागुन ७ मा बिहान काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा रामकृष्ण दाहाल मृत भेटिए । ४१ वर्षीय दाहाल तरकारी बजारभित्र भारी बोक्ने काम गर्दै आएका थिए ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ घर भएका दाहालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ घर भएका नारायण प्रसाद ढकाल, समिर घलान, हेटौंडा–२ घर भएका बिमल रुम्बा र भिमफेदी गाउँपालिका–७ घर भएका अर्जुन स्याङतान छन् ।
आरोपीहरू पनि तरकारी बजारभित्र मजदुरी गर्छन् । तरकारी बजार भित्रको टहरामा उनीहरूसँगै बस्दै आएका थिए । फागुन ६ मा साँझ उनीहरुले तरकारी बजारमा ल्याएर छ्याङ, मासु र चिउरा खाए । पक्राउ परेकाहरूसँगै दाहालले पनि मदिरा र मासु चिउरा खाएको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।
तर, बिहानीपख सामान्य विवाद हुँदा ४ जना मिलेर दाहालको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘फलामको पाइपले हिर्काएर हत्या गरेको देखिन्छ ।’
उनको निधारको दायाँतर्फ चोट देखिएको छ । बिहान हत्या हुनुअघि दाहालले नारायण ढकाललाई कालो चिया ल्याइदिन अनुरोध गरेका थिए । तर, चिया ल्याउन आफूले बिर्सेको ढकालले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
प्रहरी वृत्त कालीमाटीले घटनाबारे अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
हत्यामा प्रयोग भएको फलामको पाइप प्रहरीले बरामद गरेको छ । रगत लागेको कपडा पनि बरामद गरिएको एसपी बोहराले बताए । बोहरा भन्छन्, ‘सामान्य भनाभनको निहुँमा हत्या भएको देखिन्छ, थप अनुसन्धान गर्दै छौँ ।’
आरोपीहरू शव भेटिएको आधा घण्टामा तरकारी बजार भित्रबाटै पक्राउ परेका हुन् ।
