काठमाडौं । गत माघ २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेको विरुद्धमा बहस गरेको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण भएको भन्दै प्रहरीले आक्रमण गर्नेहरु विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलायो । जबकी सार्वजनिक भएको भिडिओमा त्रिपाठीविरुद्ध सामान्य धकेलाधकेल मात्र भएको छ ।
यसरी सामान्य धकेलाधकेल भएको केसमा काठमाडौं प्रहरी नै हो ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेको हो । दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको थियो ।
तर, सुरक्षा ड्युटीमा खटिएकाहरुलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुटपिट गर्नेहरुलाई त्यही काठमाडौं प्रहरीले सामान्य मुद्दामा घटना डिसमिस पार्न खोजेको छ ।
गत बिहीबार मध्यराती नेकपा एमालेनिकट अनेरास्ववियुका विधार्थी नेताहरुले काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित छायाँ सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीमाथि साघातिक आक्रमण गरेका थिए ।
‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी हवल्दार र जवानलाई अनेरास्ववियु स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेका हुन् । तर उनीहरुलाई उन्मुक्ति दिनको लागि प्रहरी नै सक्रिय भएको बताइन्छ ।
प्रहरी कुट्नेहरुलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै काठमाडौं प्रहरीको चर्को आलोचना भएपछि घटनाको तीन दिनपछि आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् ।
तर मुख्य आरोपीलाई प्रहरीले पक्राउ नगरी सरक्षण गरेको छ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सुचीमा राखेपनि कमल जोशीलाई प्रहरीले अनुसन्धानको दायरामा नै ल्याएको छैन् ।
प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको भएपनि उनलाई अनुसन्धानको दायरामा नल्याएपछि जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीमाथि नैतिक प्रश्न खडा भएको छ ।
कुटपिटबाट हवल्दार घर्तिको टाउको र छातिमा चोट लागेको छ भने जवान विष्टको आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरी संगठनमा अब्बल र इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएपनि एसएसपी अधिकारीले मुख्य आरोपीलाई समात्न त परै जाओस् सोधपुछ समेत गर्न नखोजेपछि नैतिक प्रश्न उठेको हो ।
त्यतिमात्र नभएर पक्राउ परेकाहरुलाई प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्नेगरी उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरु सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।
ड्युटीमा खटिएका बर्दीधारी प्रहरीमाथि मरणासन्न हुनेगरी कुटपिट हुँदा समेत काठमाडौं प्रहरीले कमजोर मुद्दा चलाएर झनै पीडित प्रहरी कर्मचारीहरुलाई पीडा थप्ने काम गरेको छ । जबकी उनीहरुविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएर उनीहरुमाथि अनुसन्धान हुनुपर्ने थियो ।
तर, ड्युटीमा खटिएका प्रहरीहरुलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुट्दा सामान्य मुद्दामा घटना डिसमिस पार्न खोजिएपछि पनि एसएसपी अधिकार आफै उनीहरुलाई बचाउन लागिपरेको बुझ्न कठिन छैन ।
फुलारा र सिग्देललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
