काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ, ‘सानालाई एन ठुलालाई चैन’ । हो यस्तै भएको छ तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि । गत बिहीबार राती ठमेलमा एमाले निकट विद्यार्थी नेताहरुले प्रहरी हवल्दार र जवानमाथि कुटपिट हुँदा घटनामा सलग्न मुख्य व्यक्तिलाई पक्राउ गर्न काठमाडौं प्रहरीले आनाकानी गरेको छ ।
कुटपिटमा सलग्न मुख्य व्यक्ति हुन् अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख रहेका कमल जोशी । जोशी हालसम्म पनि फरार छन् । उनीविरुद्ध प्रहरी बृत्त दरबारमार्गमा मुद्दा दर्ता भएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकिरहेको छैन ।
उनलाई पक्राउ नगर्नुको कारण हो- राजनीतिक दबाब । परिसरका डीएसपी सुन्दर तिवारीले नै उनलाई सरक्षण गरेको स्रोत बताउँछ । उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले पक्राउ गर्न आदेश दिएपनि डीएसपी तिवारीले बचाउ गरेको बताइन्छ ।
अस्कल क्याम्पस अनेरास्ववियु उपाध्यक्ष दिनेश सिग्देललगायत ५/६ जनाको समुहले बिहीबार (माघ २४) राति करिब १२ बजे ठमेलको छाया सेन्टरनजिकै प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)का रूपमा मोटरसाइकलसहित खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र बिष्टमाथि कुटपिट गरेका थिए ।
आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर धम्की दिँदै उनीहरूले क्यूआरटीका रूपमा खटिएका प्रहरीमाथि कुटपिट गर्दा प्रहरी हवल्दार घर्तीको टाउको र छाती र जवान विष्टको दायाँ आँखामुनि चोट लागेको थियो ।
प्रहरीमाथि जाइलागेका उनीहरुले सरकारी मोटरसाइकलमा समेत क्षती पुर्याएका थिए भने प्रहरीले लगाएको हेल्मेट पुर्ण रुपमा फुटाइदिएका हुन् । सत्ताको मातमा उनीहरुले प्रहरीमाथि कुटपिट गरेको बताइन्छ ।
डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट गरिनुलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा प्रहरी अधिकारी अर्थ्याउँछन् । मुख्य आरोपितलाई अझैसम्म नियन्त्रणमा लिन नसक्दा काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीको भूमिकामाथि नै प्रश्न उठाइँदै छ ।
त्यसो त त्यहाँ घाइते भएका प्रहरीले आक्रमणपछि तुरुन्त कार्यालयमा जानकारी गराउँदा समेत थप मद्दतको टोली समयमा घटनास्थलमा नआइपुगेको गुनासो गरेका छन् । प्रहरी सेटमा जानकारी गराउदा समेत कुनै रेस्पोन्स नगरिएको बताइन्छ ।
घटनास्थल दरबारमार्ग प्रहरी वृत्तको क्षेत्रभित्र पर्छ । नजिकै प्रहरी वृत्त सोह्रखुट्टे समेत छ । तर, दुवै कार्यालयका प्रहरी तत्काल नपुग्दा त्यतिबेला सबै आक्रमणकारी भाग्न सफल भएका हुन् ।
राति ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने दिनेश सिग्देल र रमेश फुलारा भने पक्राउ परेका छन् । ताप्लेजुङको फुङ्लिङ्ग नगरपालिका वडा नम्बर १ घर भई लैनचौर बस्ने सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई लैनचौर बस्ने फुलारा पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जना अमृत साइन्स क्याम्पसका बिद्यार्थी हुन । सिग्देल अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्ष समेत हुन् । चर्को आलोचना भएपछि काठमाडौं प्रहरीले मुख्य आरोपीलाई बचाएर घटनाको तीन दिनपछि उनीहरुलाई मात्र पक्राउ गरेको हो ।
यसरी दुईजना पक्राउ पर्दा मुख्य आरोपीसहित कुटपिट गर्ने केही युवा प्रहरी नियन्त्रणबाहिर हुनु मथिको उखानसँग मेल खान्छ ।
