काठमाडौं । बाराको सिमरा (जितपुर) बाट १० दिनदेखि हराइरहेका ३ वर्षीय बालक मृत फेला परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका–३२, टेढा गाउँ नजिकै रहेको सियासोती खोलामा उनको शव फेला परेको छ।
सिमरा उपमहानगरपालिका–७, जितपुर बजारस्थित मावली घरबाट १७ माघमा खेल्न निस्किएका रौतहटको दुर्गा भवानी गाउँपालिका–१, निवासी रितेश चौधरी जयसवालका ३ वर्षीय छोरा अंशु जयसवालको शव शनिबार खोलामा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइबाका अनुसार बालकको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। पत्नी सुत्केरी भएपछि रितेशले अंशुलाई ससुरालीमा छोडेका थिए।
सामान्य परिवारका उनीहरु रौतहटको चन्द्रनगर नगरपालिका बजारमा कोठा भाडामा लिएर बस्दै आएका छन्। परिवारका अनुसार मृतक बालकलाई बोली सम्वन्धि समस्या (बोल्न नसक्ने) थियो।
