काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रणमा प्रहरीको काम प्रशंसनीय रहेको बताएका छन् ।नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।
उनले मुलुकमा भइरहेका अपराध नियन्त्रणमा प्रहरीले गरिरहेका काम प्रशंसनीय रहेको बताए । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षा कायम गर्नुका साथै नीतिगत र कानुनी सुधारमा पनि काम गरिरहेको उनको भनाई छ ।
गृहमन्त्री लेखकले सरकार गठन भएको ७ महिनामा सरकारले आफ्ना काम, लक्ष्य, उद्देश्य र क्रियाकलापलाई प्राथमिकीकरण गरेर अगाडि बढेको बताए ।
गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसद्मा दर्ता गराएको बताउँदै उनले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन पनि समयसापेक्ष रूपले तर्जुमा गर्ने गरी मस्यौदा प्रतिनिधिसभामा पुगेको जानकारी दिए ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको नयाँ विधेयकमा देखिएका कमी कमजोरी पहिचान गरेर सुझाव दिए अझै संसद्बाट परिमार्जन गरेर जान सकिने बताए।
अहिले संसद्मा पुगेको विधेयकले प्रहरी संगठनलाई ७० वर्ष पछि लगेको भन्ने भ्रम फैल्याइएको पनि गृहमन्त्री लेखकको भनाइ छ ।
अहिलेको सरकारको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको बताउँदै गृहमन्त्री लेखकले शान्ति सुरक्षालाई सुदृढ गर्नका लागि थप गर्नुपर्ने आवश्यक काम भइरहेको बताए ।
