काठमाडौं । पाल्पामा घर बहालको १४ सय रूपैयाँ नदिएपछि घरबेटीले डेरावालको हत्या गरेका छन् । तानसेन नगरपालिका-१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको घटनामा सोही घरका घरबेटीलाई पक्राउ गरेको छ ।
बुढाथोकी माधव बिष्टको घरमा बहालमा बस्दै आएका थिए । बुधबार बिहान ८ बजे रूद्रबहादुर मृत फेला परेको घरका घरबेटी ३१ वर्षीय माधव विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।
यता विष्टले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । रूद्रबहादुर रिब्दीकोट गाउँपालिका-१ जोगीथुमका हुन् । मजदुरी गर्ने उनी विगत ६ महिनादेखि तानसेन बस्दै आएका थिए ।
साँचामा ढुंगामाटोले बनेको माधव विष्टको दुई तले घरको एउटा कोठामा मासिक ५०० भाडा बुझाउने गरी उनी बहालमा बसेका थिए । बुधबार बिहान कोठामै मृत भेटिएपछि प्रहरीले घरबेटी विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा विष्टले घर बहालको १४ सय रूपैयाँका लागि उनको हत्या गरेको खुलेको हो । उनले हँसिया प्रहार गरी रूद्रबहादुरको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
विष्टविरूद्ध जिल्ला अदालत पाल्पाबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
