काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआइजी टेकबहादुर तामाङले गुण्डागर्दीमा संलग्नको ‘प्रोफाइलिङ’ गरिरहेको बताएका छन्।
उपत्यका कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै गुण्डागर्दी नियन्त्रणका लागि प्रोफाइलिङ गरिरहेको बताएका हुन्।
‘आममानिसलाई त्रास देखाएर ठगी गर्ने, अपराधलाई बढावा दिने, गुण्डागर्दी गर्नेहरूको प्रोफाइलिङ गर्दैछौं,’ उनले भने, ‘उनीहरू कुनै टोले गुण्डा होस् वा राजनीतिक संरक्षण प्राप्त गरेकै व्यक्तिहरू होस्।’
यस्तै कार्यालयले सामाजिक सञ्जालमा त्रास फैलाएको आरोपमा ७ जनालाई पक्राउ गरेको पनि एआइजी तामाङले जानकारी दिए। ‘हिजो भर्खरै सात जनालाई अपराध अनुसन्धानले पक्राउ गरेको छ। आफ्नो प्रभाव छाड्नका लागि तरबार खुकुरीले केक काटेर त्रास फेलाउने काम गरेका छन्,’ उनले भने।
कार्यक्रममा कार्यालयले गर्दै आएका कामकारबाहीबारे सार्वजनिक गरेको थियो। त्यस्तै सुधारका योजनाबारे पनि छलफल भएको थियो।
