काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।
मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘‘विनाशाय च दुष्कृताम्’ उल्लेख गरे ।
प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्त्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरूलाई निर्देशन दिए ।
‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्त्वपूर्ण एजेन्डाका रूपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।’
सेवाग्राही र पीडितका लागि प्रहरी साथी जस्तो बन्नुपर्ने तर, दुष्कर्म गर्नेका लागि भने प्रहरीले कठोरतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले जेरो टोलरेन्स (शून्य सहनशीलता) को नीति अपनाउनुपर्छ ।’
