काठमाडौं । प्रहरीले नेपालमा सट्टाबाजी खेलाउने एउटा ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ । आइतबार अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा १० जना भारतीय नागरिक र १४ जना नेपाली नागरिक रहेका छन्। उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका-२ सानेपास्थित दुई वटा घर भाडामा लिएर व्यवसायिक रूपमा अनलाइन जुवा सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयको टोलीले छापा हानेको थियो।
पक्राउ परेकाहरूले विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी भारतीय एजेन्टहरूसँग सम्पर्क गरेर अनलाइन तथा अफलाइन माध्यमबाट खेल सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरुको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ।
बरामद ल्यापटप र मोबाइलको प्रारम्भिक अनुसन्धानबाट तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६ सय १२ रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार भएको खुलेको छ।
पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको छ।
