काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ३७ एसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
गत माघ ११ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार ३७ जना डिएस्पीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। कुलदिप चन्द, सुमित खड्का, ठाकुर पोखरेल, मनोहर भट्ट, दिपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेवे, सुर्य बहादुर खड्कालगायतको बढुवा भएको हो ।
दर्ज्यानी चिन्ह लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नती वृति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको बताउँदै प्राप्त जिम्मेवारीका क्षेत्रमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा पुर्याएको योगदानका साथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।

उनले बढुवा भएका अधिकृतलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन पनि दिएका छन् ।
आईजीपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्वन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
