काठमाडौं । विराटनगर महानगरपालिका–५, विशालचोकको कलेर्वा टोलमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी १४ बालिकाको हत्यामा उनकै आमाबुबा र मावली परिवार संलग्न रहेको खुलेको छ ।
भारतको बिहार राज्य अन्तर्गत छपरा जिल्लामा घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उनका मावली हजुरबुबा कलेर्वाटोल निवासी सरजुग मण्डलको घरनजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार फेला परेको थियो ।
घरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर कपडासहित घोप्टो पारेर गाडिएको अवस्थामा प्रहरीले शव उत्खनन् गरी निकालेको थियो । हत्या कहिले, कसरी र क–कस्को संलग्नतामा भयो भन्ने एकिन भएको छैन ।
तर, चाँदनीको हत्यामा उनकै आमा राजकुमारी मण्डल यादव, बुबा लालमोहन यादव र मावली परिवारको संलग्नतामा ११ माघको राति भएको प्रहरीको अनुमान छ । हत्याको कारण भने बालिकाको प्रेम सम्वन्ध रहेको खुलेको छ ।
प्रहरीले पाएको जानकारी अनुसार राजकुमारी सरजुगकी माइली छोरी हुन् । राजकुमारीका चाँदनी बाहेक २ छोरा छन् । चाँदनी गाउँकै एक व्यक्तिसँग प्रेम सम्वन्धमा थिइन् ।
आमाबुबाले उनको प्रेम सम्वन्धलाई स्विकार गर्न सकेनन् । त्यसपछि लालमोहन र राजकुमारी दुवै मिलेर करिब १ महिनाअघि चाँदनीलाई मावली लिएर आएका थिए।
निकै दिन विराटनगर नै बसेका आमाबुबा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घर फर्किए । बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि उनी बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो ।
चाँदनी मामाघरमा आउजाउ गरिरहने भएकाले वरीपरी परिचित थिइन् । त्यसैले उनको बारेमा गाउँमा चासो बढ्नु स्वभाविकै थियो । एक जना, दुई जना गर्दै चाँदनी हराएको सूचना प्रहरीसम्म पुग्यो । त्यसपछि प्रहरीले बालिकाको खोजतलास सुरु गर्यो ।
प्रहरीले बालिकाका हजुरबुवा सरजुगलाई सोधपुछ गर्यो । उनले नातिनी आफ्नै घरतिर गइसकेको बताए । त्यसपछि ह्वाट्सएपमार्फत प्रहरीले भारतमा रहेका आमाबुबासँग पनि सम्पर्क गर्यो । उनीहरुले छोरी मामाघरमै रहेको बताए ।
यतीमात्रै होईन, राजकुमारीले ‘मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्यो ?’ भन्दै प्रहरीलाई थर्काउन समेत भ्याइन् ।
यसरी आमाबुबा र मावलीको कुरा वाझिएको र केही कुरा लुकाउन खोजेस्तो लागेपछि बालिकाको हत्या भइसकेको लगभग पक्का गरी प्रहरीले खोजतलास गर्न थाल्यो । नभन्दै घर नजिकै करेसा वारीमा भर्खरै खनेको जस्तो आलो माटो देखियो ।
वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो । प्रहरीले त्यसलाई खनेर हेर्दा बालिकाको शव फेला पर्यो । शरीर कुहिन थालेको र दुर्गन्धित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशी बताउँछन् ।
उनका अनुसार प्रेम सम्वन्ध छुटाउन उनलाई मामाघर ल्याइएको थियो । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसेपछि रिसको झोंकमा सबै मिलेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटना लुकाउन शव गाडेको पाईएको डीएसपी जोशीले वताए।
स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर आमाबुबा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अहिले चाँदनीका मावली हजुरबुवा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई पक्राउ गरेको छ । अहिलेसम्म पनि उनीहरुले बास्तविक घट्ना प्रहरीलाई बताएका छैनन् ।
