काठमाडौं । अछामको ढकारी गाउँपालिका–८, पल्साताका दुई किशोरीको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको पाइएको छ ।
गत ११ माघमा घरबाट बाख्रा चराउन गएका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्का भोलिपल्ट ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका थिए । नातामा सरस्वती फुपू र इसरा भदैनी हुन् ।
उनीहरुको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको प्रहरीले जनाएको छ । ढकारी गाउँपालिका–३, तालीका १७ र १५ वर्षका दुईजना किशोरले हत्या गरेको प्रहरीले पुष्टि गरेको हो ।
घटनाको आशंका र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका दुईजना किशोरले उनीहरुको हत्या गरेको स्विकार गरेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जगंलमा आरोपितहरु पनि पुगेका थिए । उनीहरु किशोरीहरुको फोन सम्पर्कमार्फत जङ्गल पुगेका हुन् ।
उनीहरुमध्ये इसरा र १७ वर्षीय बुढा थरका किशोर (कर्ण) नाम परिवर्तन प्रेमी–प्रेमिका रहेको खुलेको छ ।कर्ण र इसराबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।
उनीहरु टेलिफोन मार्फत नै प्रेम सम्बन्धमा परेका थिए । तर, उनीहरुको भेट भएको थिएन् । अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ ।
आइतबार राति तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुुगेका थिए । फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुुक्रबार बिहानै फूपुका १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।
दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरुको भेट भयो। आरोपितहरुले जगंलमा मृतकसँग उपहार स्वरुप चुन्नी मागे । मृतक इसरा र उनका प्रेमी कर्णले चुन्नी (दोपट्टा) साटे । सरस्वतीले भने चुन्नी लिन÷दिन मानिनन् ।
सरस्वतीले चुन्नी नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोर (अर्जुन) नाम परिवर्तनले यौन प्रस्ताव समेत राखेका थिए ।
प्रहरीलाई दिएको बयान अनुसार प्रेम प्रस्ताव र यौन प्रस्ताव पनि अस्विकार गरेपछि अर्जुनले सरस्वतीमाथि जबरजस्ती गर्न खोजेका थिए । तर, उनले प्रतिवाद गरिन् । त्यसपछि अर्जुनले ढुंगाले हानेर सरस्वतीको निर्मम हत्या गरेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
सरस्वतीको हत्या हुँदासम्म इसरा र उनका प्रेमी कर्णले यो कुरा थाहा पाएका थिएनन् । सरस्वतीको हत्या भएको लुकाउन भवित्य देखाउने उदेश्यले अर्जुनले माथिबाट उनको शव भएको स्थानतिर ठूलो ढुुंगा खसालेका थिए।
ढुुंगा खसेको आवाज आएपछि इसरा र कर्ण घटनास्थलमा पुगे । उनीहरु त्यहाँ पुग्दा सरस्वतीको शव क्षतविक्षत अवस्थामा थियो । अर्जुनले माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए । तर, इसराले पत्याइनन् र सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन् ।
त्यसपछि भाग्ने क्रममा रहेकी इसरालाई उनकै प्रेमी कर्णले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरस्वतीको हत्या अर्जुन एक्लैले गरेका हुन् भने इसराको हत्या दुवैजनाको योजना अनुसार भएको हो ।
हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इसराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट दर्जनौँ ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।
तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्यो । त्यसै क्रममा कर्ण र अर्जुन पनि पक्राउ परे । उनीहरु गाउँबाट भाग्ने योजना बनाइरहेका बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा सघाएका कारण पक्राउ परेका मध्ये १० वर्षीय नाबालकलाई सरकारी साक्षी बनाइएको छ भने दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
