काठमाडौं । ठगी मुद्दामा जेल परेर ५ महिनामै भागेका ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानीका ४५ वर्षीय पेसलराज वुढाथोकीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।
हाल काठमाडौँको गोंगबु बस्दै आएका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बुधबार गोंगबुबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी २९ साउन ०६७ मा डिल्लीबजार कारागारबाट भागेका थिए।
परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतले २५ फागुन ०६६ मा वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो। ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना तोकिएका उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।
करिव ५ महिना पुगेपछि उनलाई कारागारको नाईके बनाईएको थियो। नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए। त्यसयता उनी प्रहरीलाई झुक्याउँदै र छक्याउँदै जोगिएका थिए।
