काठमाडौं । सशस्त्र प्रहरी बललाई शंकास्पद व्यक्ति पक्राउ र खानतलासी गर्ने अधिकार दिने कानुनी व्यवस्था गरिने भएको छ । सरकारले संसद्मा दर्ता गरेको सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमा शंकास्पद र कसूरमा संलग्न व्यक्ति पक्राउ गरी खानतलासी गर्ने अधिकार सशस्त्र प्रहरीलाई दिने प्रस्ताव गरिएको हो ।
सशस्त्र प्रहरीलाई अहिलेसम्म सीमा सुरक्षा र आतंकवाद नियन्त्रणको मुख्य जिम्मेवारी दिइएको छ । अब भने सशस्त्रले सीमा क्षेत्रमा शंकास्पद र कसूरमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सक्ने थप अधिकार दिन लागिएको हो ।
पक्राउ परेका व्यक्ति तत्काल अनुसन्धान गर्ने निकायलाई बुझाउँदै आएको सशस्त्रले अब आफैंले संकलन गरेको प्रमाणसहित प्रतिवेदन पनि दिनुपर्ने छ । आफूले दिएको प्रतिवेदनअनुसार नेपाल प्रहरी अथवा अन्य अनुसन्धान निकायले मुद्दा चलाए वा नचलाएको जानकारी सशस्त्रले लिन सक्ने छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार संसद्मा दर्ता भएको विधेयकको दफा ९ को उपदफा ४ मा शंकास्पद व्यक्ति बसेको स्थान, क्षेत्र, घरमा खानतलासी गरी व्यक्तिसँगै प्रमाण पनि सशस्त्रले नियन्त्रणमा लिन सक्ने भनिएको छ । यसरी सशस्त्रले नियन्त्रणमा लिएका व्यक्तिलाई अनुसन्धान गर्ने निकायमा बुझाउनसमेत समय सीमा तोकिएको छैन ।
