काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताएका छन् ।
हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै कुँवरले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।
आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
