काठमाडौं । नेपाल प्रहरीको इतिहासमा भद्र र शालीन मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले माघ १० मा आफ्नो कार्यकालको २२ महिना पूरा गर्छन् ।
यो २२ महिनाको समयमा उनले कहाँ के के गरे त ? उनी सफल भएका छन् कि त असफल ? प्रहरी संगठन सुधारको प्रयास भयो कि भएन ? सर्वत्र चासोको विषय पनि छ ।
जागिरे जीवनको लामो समयसम्म अब्बल कमाण्ड सम्हालेर आफूमुनिका दर्जालाई माया गर्ने गरेका आईजीपी कुँवरले संगठनको कमाण्ड सम्हाल्दा रातारात परिवर्तन नभए पनि संगठनमा देखिएका विकृति नियन्त्रण हुने आशा थियो ।
जुनकुरा २२ महिने कार्यकालमा आएर पुष्ठि भएको छ । उनी आईजीपी भइसकेपछि नेपाल प्रहरीमा चौतर्फी सुधार प्रयास भएको परिणामहरुबाट देखिन्छ । उनले नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल भएका छन् ।
नियमित सरुवा बढुवाबाहेक पनि नीतिगत तहमा उनको कार्यकालमा प्रहरी संगठनले राम्रै उपलब्धि हासिल गरेको छ । प्रहरी संगठनलाई नै प्रभावित पार्ने गरी आउने राजनीतिक दबाबलाई केही हदसम्म उनले थेगेर प्रहरी कर्मचारीहरुको समेत मनोबल उच्च बनाएका छन् ।
त्यस्तै प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत उनको कार्यकालमा निकै प्रगति भएको तथ्यहरुले देखाउँछ । उनले प्रहरीभित्र रहेको आन्तरिक कमिकमजोरीहरुलाई सुधार गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
संगठन सञ्चालनको नयाँ अभ्यास, स्पष्ट नीति र लक्ष्यका साथ संगठनको नेतृत्व गरेका उनले समय र परिस्थिति अनुकूल संगठनलाई स्रोतसाधन सम्पन्न बनाउने कार्यमा पनि लागिपरेका छन् ।
केही अपवादको घटनाबाहेक संगठनलाई गतिशील बनाउने, समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, गुन्डागर्दी अन्त्य गर्ने कार्य र राजस्व चुहावट नियन्त्रण गर्नुमा आफूलाई समर्पित गर्दै आएका छन् ।
आईजीपी कुँवरको कार्यकालमा लामो समयदेखि फरार अपराधीहरु पक्राउ परेका छन् । यसअगाडि उनीहरु अपराध गरेर खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।
प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका कुँवरको सुरक्षा वृत्तमा बेग्लै पहिचान छ । उनी संगठनभित्र जति लोकप्रिय छन् बाहिर पनि उनको छवि राम्रो छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यावसायिक शैलीका कारण उनी आफूलाई फरक आईजीपीको कोटीमा राख्छन् ।
साथै संगठनको मनोबल उच्च बनाउने, प्रहरीलाई प्रविधिमैत्री बनाएर समाजमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काममा पनि उनी अहोरात्र खटिँदै आएको कुरा जगजाहेर नै छ ।
आइजीपी नियुक्त हुँदा नै उनीमाथि प्रहरी सङ्गठनको आन्तरिक सरुवा–बढुवा, आर्थिक पारदर्शिता, चेन अफ कमान्ड र कानुन कार्यान्वयन मुख्य चुनौतीका रूपमा देखापरेका थिए । त्यस्ता चुनौतीलाई सहज ढङ्गले समाधान गरी प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने प्रयास उनको कार्यकालमा भएको छ ।
राजनीतिक पहुँच र लबिङमा कमजोर देखिए पनि उनी प्रहरी कमान्डरका रूपमा खरो उत्रिए । करिब ८० हजार संख्याको फौजको विश्वासको केन्द्र बनेका उनले राजनीतिक नेतृत्वसँग दरिलो ‘डिल’ गर्नु पनि अर्को सफलता हो ।
‘प्रत्येक दिन मेरा लागि परीक्षाको घडी र नयाँ उपलब्धिको अवसर बन्यो, उनले भने, ‘बजारमा आएका हल्लासँंग मेरो कामको ‘फेहरिस्त’ को तुलना गर्न मिल्दैन । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नेदेखि पारदर्शिता बढेको छ ।’
देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रहरी संगठनको छवि राम्रो बनाउन सफल भएका छन् कुँवर आफ्नो कार्यकालमा । कुँवरकै कार्यकालमा सगरमाथा आरोहण गरेका सई पुरुषोत्तम नेपालीलाई सम्मान गरियो । जुन कार्यक्रममा आईजीपी कुँवरसमेत सहभागि थिए ।
उनी भन्छन्, ‘देश र जनताको सेवा गर्न पाउनु निकै गर्वको कुरा हो, संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उनले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न नहुने बताउँछन् ।
कुँवरको कार्यकालमा सरुवामा समेत मापदण्ड बनाइएको छ । जसको अक्षरंश पालना भएको छ । चारवटा श्रेणीमा विभाजित गरेर कुँवरले आलोपालो जिल्ला इन्चार्ज पठाउने नीति बसालेपछि शक्तिकेन्द्रसँग निकट भएका अधिकृतहरुले समेत अवसर पाउने गरेका छन् ।
उनको कार्यकालमा तल्लो दर्जाको प्रहरी कर्मचारीहरुको माग समेत सम्बोधन हुने तयारीमा छ । १६ बर्ष पेन्सनअवधी बनाउनुपर्ने तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको माग छ । सोही बमोजिम गृह मन्त्रालयले काम गरिरहेको उनी बताउँछन् ।
महानिरीक्षकको जिम्मेवारी सम्हालेदेखि नै कुँवर सुशासन र शान्ति स्थापनामा प्रतिबद्ध भएर लागेका थिए । अहिलेको विद्यमान प्रहरी ऐनअनुसार कुँवरको कार्यकाल अझै २ महिना बाँकी छ ।
प्रहरीका लागि प्रत्येक दिन त्यत्तिकै महत्वपूर्ण हुने भएकाले २२ महिनाको अवधि अर्थात् ६६० दिन केही न केही महत्वपूर्ण काम भएको उनको दाबी छ । ‘प्रहरीको नेतृत्व गर्दा राष्ट्र, नागरिक र सङ्गठनको हित तथा शान्तिसुरक्षा सर्वोपरि थियो, निस्कँदासम्म पनि त्यही कुरा यथावत् हुनेछ’, उनले भने ।
इमान्दार, खरो शैली र साहसिक भूमिकाका कारण विगतमा धेरै चर्चामा नआए पनि कुँवर आईजीपी भएपछि फरक शैलीमा अगाडि बढ्ने प्रयास गरिरहे । हल्ला कम, काम बढी गर्ने उनको रणनीति हो । मातहतका कमान्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजातिर बढी केन्द्रित हुन निर्देशन दिइरहेका छन् ।
नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा अहिले पनि प्रहरी महानिरीक्षक कुँवर लागिपरेका छन् ।
विगतका केही महानिरीक्षकहरूको जस्तो बदनाम छवि लिएर अवकाश हुने अधिकृतमा नपर्ने देखिन्छन् । अवकाशपछि कुनै विवादमा तानिने या ‘स्क्यान्डल’मा फस्ने सम्भावना शून्य छ, उनका लागि।
