काठमाडौं । एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडिओ सामाजिक संजालमा भाइरल भएको घटना चितवन भरतपुरको रहेको पाइएको छ । घटना आजभन्दा २२ दिन अघिको हो ।
ती युवकलाई कुटपिट गर्ने प्रहरी हुन् जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल । भिडिओमा भुजेलले ती युवकलाई सडकमा लच्छारपच्छार गरेर लात्तैलाताले हानेको देखिन्छ ।
‘त्यसरी सार्वजनिक स्थलमा एकजना सर्वसाधारण माथि कुटपिट गर्नु हाम्रो इथिक्स भन्दा बाहिरको कुरा हो,’ चितवन प्रहरी प्रमुख गौतम मिश्रले भने, ‘बाकी कुरा छानबिनपछि थाहा होला ।’
घटनाबाहिर आएपछि चितवन प्रहरीले भुजेललाई तत्कालको लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) मिश्रले जानकारी दिए ।
घटनापछि प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको कमाण्डमा समिति गठन गरिएको एसपी मिश्रले बताए ।
कुटाइ खाने व्यक्ती चाहिँ भरतपुर-११ गणेशस्थानका अमृत कुमाल रहेको बताइएको छ । बेलाबेलामा प्रहरीलाई गालीगलौज गर्ने कुमाल त्यो दिनपनि प्रहरीमाथि गालीगलौजमा उत्रिएको एक प्रत्यक्षदर्शीले बताए ।
ती प्रत्यक्षदर्शीका अनुसार उक्तदिन पनि कुमाल हतियारसहित प्रहरीलाई गालीगलौजमा उत्रिएका थिए । घटना राती ११ बजेको हो । चर्को आवाजमा मोटरसाइकल चलाएर हिडेको बेला कुमालको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जतिबेला ४ जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो भने अन्य ४ जना भाग्न सफल भएका थिए । भाग्नेमा कुमाल पनि थिए । त्यसपछि नजिकै भागेका कुमालले ढुङ्गा हाने । उक्त ढुङ्गा असइ भुजेललाई लाग्यो ।
खुट्टाबाट रगत नै आएपछि आवेगमा आएका भुजेलले त्यसपछि कुमाललाई नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् । जुन भिडिओ कुमालकै साथीहरुले बनाएर बाहिर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
