काठमाडौं । पछिल्लो ६ महिनायता प्रहरी संगठनभित्र वरिष्ठ उपरीक्षक (एसएसपी) को मात्र नभएर तल्लो दर्जाको समेत बढुवा हुन सकेको छैन । हालसम्म आएर २५ पद रिक्त हुँदा समेत बढुवा अन्यौलमै छ ।
बढुवा नहुनुको कारण अरु कोहि नभएर तालुक मन्त्रालयका मन्त्री हुन् । गृहमन्त्री रमेश लेखकले सिनियर प्रहरी उपरीक्षक (एसपी) हरूलाई पन्छ्याएर जुनियरलाई एसएसपीमा बढुवा गर्न दबाब दिएको कारण बढुवा अन्यौलमा परेको हो ।
एसएसपीका लागि २ ब्याचका ६ लटमा बढुवा भएका एसपीहरू प्रतिष्पर्धामा छन् । तर दोस्रो ब्याचको पनि अन्तिम अर्थात् चौथो लटमा एसपीमा बढुवा भएका चक्रराज जोशीलाई कुनै पनि हालतमा बढुवा गर्नुपर्ने गृहमन्त्री लेखकको अडानपछि बढुवा अन्यौलमा परेको बताइन्छ ।
एसपी जोशी अहिले गृहमन्त्री लेखककै गृहजिल्ला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत छन् । जोशी लेखकको पहिलो रोजाइमा परेपछि बढुवामा समस्या भएको गृह मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
‘बाहिर देख्दा नरम र भद्र देखिने गृहमन्त्री लेखकको प्रहरी संगठनभित्र चरम हस्तक्षेप छ,’ ती अधिकारी भन्छन्, ‘बढुवामा गृहमन्त्री लेखकको नांगो हस्तक्षेपका कारण बढुवामा समस्या आएको हो ।’
त्यतिमात्र नभएर गृहमन्त्री लेखकले आफ्नो प्रदेशका अन्य जुनियर एसपीहरुलाई समेत बोकेका छन् । उनीहरुले समेत गृहमन्त्री लेखकलाई बढुवाको लागि दबाब दिएको र लेखक पनि उनीहरुलाई काखी च्यापेर बढुवा गर्न लागिपरेको स्रोतको दावी छ ।
जबकी प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवर गृहमन्त्री लेखकको कुरामा सहमत छैनन् । प्रहरी महानिरीक्षक कुँवरले कार्यक्षमता र कार्यसम्पादन मुल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि अहिलेको बढुवा रोकिएको बताइएको छ ।
साथै, गृहसचिव गोकर्णमणि दुवाडीले पनि कार्यसम्पादन मुल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका छन् । आइजिपीको अडानमा गृहसचिव दुवाडीको पनि साथ रहेपनि गृहमन्त्री लेखकको चर्को दबाब रहेको स्रोत बताउँछ ।
आइजिपी कुँवरले पनि बढुवाको पालो सबैको एकैपटक नआउने भएकाले चेन अफ कमान्ड नबिग्रिने गरी बढुवा प्रक्रिया अघि बढाउने अडान कायमै राख्दा एसएसपी बढुवा प्रक्रियामा ढिलाइ भएको हो ।
पटक-पटक गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक कुँवरबिच छलफल चलिरहे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । यद्यपि बढुवाको टुंगो कहिले लाग्छ भन्नै नसकिने आइजिपी सचिवालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृतले बताए ।
यी हुन् बढुवाको दौडमा रहेका एसपीहरु
बढुवाको दौडमा २०५६ असार ३ र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत रहेका छन् । त्यसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ सालका भर्ना हुन्।
रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका आकांक्षी हुन्।
त्यस्तै दोस्रो लटबाट तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत एसएसपीमा बढुवाका दाबेदार हुन्। २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृत पनि अहिले एसएसपी बढुवा प्रतिस्पर्धामा छन्।
होविन्द्र बोगटी, वेद विष्ट, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, ऋषिराज कँडेल पनि बढुवाका आकांक्षी हुन्।
